कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५
616

चिकित्सा शिक्षा विधेयक पेश हुन सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबार पनि चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठकमा पेश हुन सकेन । सभामुख कृष्णबहादुर महराले कांग्रेसको अवरोध जारी रहेकै बेला शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए । तर, कांग्रेस सांसदहरुले शिक्षामन्त्री पोख्रेललाई बाटैमा रोकेपछि विधेयक पेश हुन सकेन ।
कांग्रेस सांसद प्रकाशमान सिंहले बैठक शुरु हुनासाथ चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाएर बैठक सञ्चालन हुन नसक्ने बताएपछि कांग्रेस सांसदहरु रोष्टमतिर गए । रोष्टम घेराउ गरिरहेका कांग्रेसका सांसदहरुलाई बेवास्ता गर्दै सभामुख महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्न शिक्षामन्त्री पोख्रेललाई अनुमति दिएपछि नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदले रोष्टमसम्म पु-याउने प्रयास गरेपनि सफल हुन सकेन । कांग्रेस र नेकपाका सांसदहरुबीचको ठेलमठेलकै अवस्था आएको थियो । सभामुख महराले त्यसलगत्तै १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गराउँछु भन्ने प्रपञ्चमा सरकार लागेको कांग्रेसको आरोप छ । उनीहरुले सभामुख महरासँग असन्तुष्टि समेत जनाएका छन् । कांग्रेस सांसद गगन थापाले भने, “यो भन्दा पहिला पनि पटकपटक यस्ता घटना भएका छन् । तर, कहिल्यै पनि एउटा दलप्रतिको रुझान राखेर सभामुखले व्यवहार गरेको हामीलाई थाहा छैन ।” पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउँदै डा.गोविन्द केसी आमरण अनसनमा छन् ।
नेविसंघ सडकमा उत्रिने
चिकित्सा शिक्षा विधेयकलाई लिएर मातृ पार्टी कांग्रेसले संसदमा अवरोध गरिरहँदा भ्रातृ संस्था नेपाल विद्यार्थी संघ भने सडकमा उत्रने भएको छ । बुधबार डा. केसीको मागका पक्षमा र निर्मला पन्त बलात्कारपछि हत्या काण्डको विरुद्धमा नेविसंघले प्रदर्शन गर्न लागेको हो ।
काठमाडौंका विभिन्न क्याम्पसबाट निस्कने जुलुस दिउँसो १ बजे माइतीघर मण्डला पुगेर सभामा परिणत हुने संघका केन्द्रीय सदस्य रघु कार्कीले जानकारी दिए ।