कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५
736

लमजुङ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रता विरोधी बन्दै गएको आरोप लगाएका छन् । सोमबार नेपाल प्रेस युनियन लमजुङ शाखाको छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले प्रेस जगतको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए ।
“प्रेस र प्रजातन्त्र पर्यावाची जस्तै हो । प्रेसमाथिको हस्तक्षेप प्रजातन्त्रप्रतिको हस्तक्षेप हो,” उनले भने । प्रेस र प्रजातन्त्रप्रतिको आक्रमण कम्युनिष्ट सरकारको अराजक शैली भएको देउवाको आरोप थियो । वर्तमान सरकारले आम नागरिकले थाहा पाउनुपर्ने सूचनासमेत लुकाउने गरेको बताउँदै उनले यस्तो शैली मुलुकका लागि दुर्भाग्य भएको धारणा व्यक्त गरे । “नेपाली कांग्रेस जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा छ । प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रताको पक्षमा सदैव लडिरहन्छ,” उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. रामशरण महत, केन्द्रीय सदस्य दिलबहादुर घर्तीलगायतले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्रको आभास नहुने बताएका थिए । प्रेस युनियन लमजुङले छैटौं अधिवेशनबाट ऋषि अधिकारीको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।