कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५
815

माओवादी शान्ति प्रक्रियामा जाँदा विरोध जनाउँदै छुट्टै समूह खडा गरेका केशव दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी कम्युनिस्ट केन्द्र) उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित भएको छ । सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहाललगायत नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत सातामात्रै दुई छुट्टै कम्युनिस्ट समूहको प्रवेश भएको जनाउँदै फोरमले यसबाट स्थानीय तहमा पार्टी बलियो भएको दाबी गरेको छ । सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले सो कार्यक्रममा मुलुकमा संघीय समाजवादी फोरम नेपालको विकल्प नै नरहेको दाबी गरे ।

यादवले भने, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको छ ।” औपचारिक रुपमा फोरम बनेका कम्युनिस्ट नेता दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको बताए ।
तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा केशव दाहालको नेतृत्वमा सो टिम विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो ।