कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५
616

दुई पूर्वसभापतिको नामका अस्पताल खारेज गर्न खोजिएकोमा आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको संसद् बैठक अवरुद्ध गरेको छ । कांग्रेसका दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारको मातहतमा ल्याउनुपर्ने माग गर्दै कांग्रेसले सोमबार संसद् बैठक अवरुद्ध गरेको हो ।
सरकारले तनहुँको जिपी कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत नराखेर खारेज गर्न खोजिएको भन्दै कांग्रेसले तत्कालै संघको मातहत ल्याउने निर्णय गर्नुपर्ने अडान राखेको छ । सोमबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिएका थिए ।

गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणका अग्रज गिरिजाप्रसाद र सुशील केइरालाको नामका अस्पताल खारेज गर्न खोजिएको आरोप लगाए । गच्छदारले वीपी कोइरालाको नाममा बनेपादेखि बर्दिबाससम्मको राजमार्ग सञ्चालनमा रहेको भन्दै हिम्मत भए वीपी राजमार्गको नाम केपी ओली राजमार्ग नामकारण गर्न चुनौती दिए । सरकारले घोर अराजनीतिक काम गरेको भन्दै उनले यसरी विगतका निर्णय उल्ट्याउने हो भने सेनामा समायोजन भएका माओवादी लडाकुलाई पनि फिर्ता गर्नुपर्ने तर्क गरे ।
गच्छदारले डा. गोविन्द केसीसँगको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक ल्याइएकोमा समेत आपत्ति जनाए । कांग्रेस सांसदहरु गच्छदारले बोलेपछि पनि आ–आफ्नो स्थानमा उभिरहेपछि सभामुख कृष्णबहादुर महराले अवरोधको स्थिति भन्दै १५ मिनेटलाई बैठक स्थगित गरेका थिए । कांग्रेसको विरोध कायमै रहेपछि सूचना टाँस गरी बैठक आज (मंगलबार) सम्मको लागि स्थगित भएको छ ।