कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५
575

दमौली-नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आइतबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सभापति देउवाले अनुशासन भन्दा बाहिर गएर गतिविधि सञ्चालन गर्न नहुनेमा जोड दिए ।
नेपाली काङ्ग्रेस तनहुँको विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले पार्टीको विधि र विधानमा रहेर गतिविधि सञ्चालन गर्नुपर्ने बताए । केही गुनासाहरु भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने भन्दै सभापति देउवाले अनुशासन भन्दा बाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने स्पष्ट पारे ।

उनले एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने भन्दै अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने समेत बताए । सभापति देउवाले एउटा चुनाव हार्दैमा निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै आगामी चुनाव जित्ने तयारी गर्न निर्देशन समेत दिए । उनले भने, “चुनावमा हारजित हुन्छ, हारलाई निराशामा होइन, आशामा बदलेर आगामी चुनाव जित्ने गरी तयारी गर्नुपर्छ ।” सभापति देउवाले काङ्ग्रेसको क्रियाशील सदस्यता बढाउनेतर्फ लाग्न जिल्ला समितिलाई निर्देशन दिए ।
सभापति देउवाले महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधान भन्दा उत्कृष्ट बनेको दावी गरे । राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काङ्ग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतिक भएको सभापति देउवाले बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई खारेज हुन नदिने बताए । उनले सरकार विरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिँदै सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएको टिप्पणी गरे ।
कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले आन्तरिक एकता नहुनु नै काङ्ग्रेसको हारको मुख्य कारण रहेको बताए । उनले कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टीभित्रै एकता नहुँदा काङ्ग्रेस आज यो अवस्थामा पुगेको बताए । महामन्त्री कोइरालाले तनहुँमा पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधान अनुसार नभएको जिकिर गर्दै उनीहरुलाई समेत बोलाएर छलफल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीमा ६०÷४० को भागबण्डा अन्त्य हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामशरण महतले गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति नभई सामूहिक एकताका आधारमा पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले असन्तुष्टिका विषयका पार्टीभित्रै बसेर छलफल गर्न सकिने भएपनि त्यो बाटो अवलम्बन नगरी पार्टीलाई क्षति पुग्ने गरी सञ्चालन हुने गतिविधि असफल पार्नुपर्ने बताए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्रकै असमझदारीले पार्टी कमजोर भएकोले आन्तरिक एकतामा जोड दिए । काङ्ग्रेस तनहँुका कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, जिल्ला सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति धु्रव वाग्ले, रघुनाथ पौडेल लगायतले काङ्ग्रेसको जनआधार अहिलेपनि बलियो रहेकोले चुनावको नतिजाबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे ।