कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
674

दाङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले संविधानविपरित कर लिने गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस दाङले गरेको कार्यकर्ता भेटघाटमा उनले राज्यले अहिले संविधानले कर नलिने भनेको स्थानबाटसमेत लने गरेको आरोप लगाएका हुन् ।
“कर कहाँ लगाउने कहाँ नलगाउने भन्ने नै छैन, सवै स्थानमा कर लगाइएको छ,” नेता डा. महतले भने । केन्द्रीय सरकारदेखि स्थानीय सरकारले संविधानविपरित कर लिने गरेको उनको भनाइ छ । अहिले सरकारले ढुंगा, गिट्टी, वालुवा ढुवानी, आवतजावत गर्ने सवारी साधन तथा सामग्री खरिद बिक्रीमा समेत कर लगाउने गरेको उनले आरोप लगाए । “करले अहिले जनतालाइ बोझ बनाइसकेको छ,” डा. महतले भने । थोरै कर तिर्ने जनताले धेरै कर तिर्नुपर्ने वाध्यता भएको उनले बताए । धेरै कर तिर्दासमेत जनताले भने केही पाउन नसकेको उनले बताए ।

डा. महतले अहिले स्वदेशी उद्योगसमेत समस्यामा परेको दाबी गरे । “उद्योगीलाई प्रोत्साहत गर्न नसक्दा उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका छन्,”“सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी बाहिरवाट आउने वस्तुसँग प्रतिस्पर्धा गर्ने सक्ने वातावरण बनाउनै सकेको छैन ।” उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिए ।
नेता डा. महतले सरकारी नीतिविरुद्ध उद्योगीहरू आन्दोलित हुन थालेकोसमेत बताए । सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्न नसकेको आरोप लगाउँदै उनले त्यसैको प्रतिफलस्वरूप अहिले सेयर कारोबार घटेको दाबी गरे । “राज्यको नीतिका कारण लगानीकर्ताहरू आतंकित भएका छन्,” उनले भने, “यसले राज्यलाई नै घाटा हुने अवस्था सिर्जना भएको छ ।” नेता महतले सरकारको नेतृत्व सस्तो भाषणमा केन्द्रित हुने गरेको तर दूरदृष्टि नभएको आरोप लगाए ।