कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
1023

झापा- नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले डा. गोविन्द केसी ढोंगी भएको आरोप लगाएका छन् । बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी नेता भट्टराईले डा. केसी विधेयकको अध्ययन नै नगरी अनशन बसेको दाबी गरे ।
डा.केसीका अधिकांश माग पूरा भएको बताउँदै भट्टराईले विधेयकको अध्ययन गरेर अनशन तोड्न केसीलाई सुझाव दिए । “संसद्मा विधेयक प्रस्तुत गर्दा डा.केसी इलाम पुगेछन्,” भट्टराईले भने, “म पनि इलाम पुगेको थिएँ । इलाममा नेट पनि राम्रोसँग चल्दो रहेनछ । संसद्मा प्रस्तुत विधेयकमा के लेखेको छ, पढ्न केसीले नसकेका पनि हुन सक्छन् ।” भट्टराईले केसीका सबै माग पूरा भइसकेको अवस्थामा सरकारले पुनः उनीसँग वार्ता गर्नुको औचित्य नभएको बताए । “अब वार्ता आवश्यक छैन, तर केसीको जीवन सरकारले जसरी पनि रक्षा गर्छ,” उनले भने । संसद्मा चर्चाको विषय नै केसी र उनको अनसनको भएको बताउँदैे भट्टराईले केसी कसैबाट परिचालित भएको आरोप लगाए ।

भट्टराईले केसीले चुनावको समयमा कांग्रेसको चारतारे झण्डा बोकेर हिँडेको आरोप लगाउँदै भट्टराईले केसीलाई कांग्रेसले प्रयोग गरेको आरोप लगाए । चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएको चिकित्सा विश्वविद्यालय डा. केसीले नै तेस्रो पटकको अनशनमा माग गरेको तर अहिले आएर उनले आफूले भन्दै नभनेको कुरा विधेयकमा उल्लेख गरेको बताउनु केसीको ‘मानसिक रोग’को सुरुआत भएको जिकिर उनले गरे ।
डा. केसीको मागअनुसार अघि बढे नेपालमा शिक्षण अस्पताल खोल्न अझ १५ वर्ष लाग्ने दाबी गर्दै भट्टराईले भने, “कुनै एक व्यवसायीले सबै पूर्वाधार पूरा गरेर मेडिकल कलेज खोल्छु भन्यो भने त्यसलाई हामीले किन रोक्ने ?” भट्टराईले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुने जानकारी दिँदै केसीका मागका बारेमा चर्चा गर्ने समय सकिएको दाबी गरे ।