कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
549

नेपाल विद्यार्थी संघको कार्यकाल नथप्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा विद्यार्थी नेताहरूले धर्ना दिएका छन् । नेविसंघ काठमाडौं जिल्ला सभापति मनोज वैद्यको नेतृत्वमा बिहीबार बिहान देउवा निवास उनीहरूले बूढानिलकण्ठमा धर्ना दिएका हुन् ।
मोटरसाइकल जुलुससहित देउवा निवास पुगेका उनीहरूले अहिलेको कार्यसमितिले महाधिवेशन गर्न नसक्ने भन्दै यसलाई म्याद नथप्न माग गरेका छन् । पछिल्लो पटक थप गरेको समयसीमा माघ २ गते सकिएकाले नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति विधानतः स्वतः भंग भएको नेविसंघ काठमाडौं सभापति मनोज वैद्यले बताए । विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद सकिएको छ । तर, पार्टीले माघ १० गते केन्द्रीय समितिले यसबारे थप निर्णय गर्ने भन्दै त्यति समयसम्मका लागि कामचलाउको हैसियतमा राखेको छ ।
“आफैं बनाएको विधान पार्टीले पनि उल्लंघन गर्न हुँदैन । २ पटक समय थप गर्दा पनि महाधिवेशन गराउन नसक्ने वर्तमान नेतृत्व निकम्मा सावित भइसकेको छ,” संघका काठमाडौं अध्यक्ष वैद्यले भने, “तत्काल यसको विकल्प खोजिनुपर्छ । यसबाट महाधिवेशन सम्भव छैन ।” वर्तमान कार्यसमितिका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले समय थपको पक्षमा छन् भने उपाध्यक्ष पुष्प शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेम जोशीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि वर्तमान समिति विघटनको पक्षमा छन् । उनीहरूमध्ये धेरैले राजीनामा नै बुझाइसकेका छन् ।