कारोबार संवाददाता
बुधवार, माघ २, २०७५
657

हालैमात्र विभाजनको मार खेपेको विवेकशील साझा पार्टीले अर्को वर्ष फागुनमा महाधिवेशन गर्ने भएको छ । हालै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले ०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा गर्नेगरी महाधिवेशनको तिथि तय गरेको हो ।
पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यका अनुसार पार्टी विभाजनपछिको परिस्थिति र पार्टीमा देखा परेका चुनौतिका बारेमा सदस्यहरूलाई सुसूचित गर्न यही माघ १२ गते काठमाडौंमा विशेष भेला गर्ने पनि केन्द्रीय कार्यसमितिले निर्णय गरेको छ । माघ तेस्रो सातादेखि ‘मधेस मिसन’ सञ्चालन गर्ने तयारी पनि विवेकशील साझाको छ ।

पार्टी केन्द्रीय समितिले विभाजनपछि जिम्मेवारीसमेत हेरफेर गरेको छ । कोष संकलनको जिम्मा डा. उमेद पुनले लिएका छन् भने संगठन हेर्ने जिम्मेवारी मुमाराम खनाललाई दिइएको छ । पार्टी अभियानको जिम्मेवारी किशोर थापाले लिएका छन् भने नीति तथा कार्यक्रम विभागको जिम्मेवारी डा. सूर्यराज आचार्यलाई प्रदान गरिएको छ ।
प्रशिक्षण विभागमा केशव दाहाल, सञ्चारमा किरणकृष्ण श्रेष्ठ, सामाजिक न्याय तथा समावेशितामा प्रकाशचन्द्र परियार, कानुनमा निरुपमा यादव, उद्यमशीलतामा रमेश महर्जन, तथ्यांकमा राम साह, केन्द्रीय कार्यालयमा मानवी पौडेल र विदेश विभागको जिम्मेवारी पार्टी संयोजक रवीन्द्र मिश्रले सम्हाल्ने छन् ।
यसैगरी पार्टीले प्रदेश १ को संयोजकमा अनिल भेटवालाई चयन गरेको प्रवक्ता आचार्यले जानकारी दिए । पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट सिफारिश गरेअनुसार सुदूरपश्चिमबाट शैलु श्रेष्ठ, प्रदेश पाँचबाट सरस्वती पन्थी भुसाल, गण्डकी प्रदेशबाट सुशीला केसीलाई चयन गरिएको आचार्यको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले विवेकशील साझा र पुनर्गठित विवेकशील नेपाली दल दुवै वैकल्पिक पार्टी निर्माणमा सामेल भएकाले भविष्यमा मिल्ने सम्भावना रहेको बताए । वैकल्पिक शक्ति निर्माणको बाटो लामो भएकाले अहिले आरोप–प्रत्यारोपमा अल्मलिन नहुने आचार्यको भनाइ थियो ।
पार्टी फुटाएर अलगअलग बाटो तय गर्नुपर्ने गरी असमझदारी नरहेको र अचानक पार्टी फुटेको समाचार अखबारमा हेडलाइन बन्दा सिंगो पार्टी पंक्ति अचम्मित भएको उनको जिकिर थियो । “मतभेद हुनसक्छन्, पार्टी केन्द्रीय समितिको बैठक आह्वान भएकै थियो, केन्द्रीय समितिको बैठकमा उहाँहरूका फरक मत, असहमतिलाई अजेण्डा बनाइएकै थियो,” उनले दुखेसो पोखे ।
मतभेद रहे पनि आफूहरू सच्चिन प्रतिवद्ध रहेको बताउँदै उनले पुराना पार्टीजस्तो गणितलाई आधार बनाएर कसैलाई किनारामा धकेल्ने र पेल्ने पक्षमा विवेकशील साझा नभएको जिकिर गरे । केन्द्रीय समितिको बैठकले वैकल्पिक शक्ति निर्माण आन्दोलनको आयातनलाई अझ फराकिलो बनाएको बताउँदै आचार्यले भने, “केन्द्रीय समितिको बैठकपछि हामी नयाँ ऊर्जाका साथ उपस्थित भएका छौँ । नेपालको राजनीतिलाई वैकल्पिक दिशा दिने चिन्तनमा विभाजनले ठेस लागेको छ । तर, हामी हतास छैनौैं । देशको राजनीतिलाई विकल्प दिनेगरी आउँछौं ।”