कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
610

रष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने, “पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नु हुँदैन । एकीकरणको गौरव र इतिहास कहिल्यै पनि परिवर्तन हुँदैन ।”
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा अध्यक्ष थापाले राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरे । उनले भने, “पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउँछौं । शाहले एकीकरण गरेको होइन, गोरखा विस्तार गरेका हुन् भनेर व्याख्या गरेको पनि पाइयो । तर, दुवैको परिणाम एउटै हो– आधुनिक नेपाल निर्माण । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ ।”

उनले भारतमा जस्तै नेपालमा पनि ब्रिटिश साम्राज्यको प्रभाव पार्न खोजिएको भएपनि पृथ्वीनारायण शाहले उनीहरुको षड्यन्त्र असफल पारिदिएको स्पष्ट पारे । उनले भने, “१७६७ मा सिन्धुलीगढीमा अंग्रेज सेनाहरुलाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाउनुभयो ।”
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे । उनल भने, “मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ ।” आफ्नो पार्टीले प्रत्येक वर्ष पुस २७ गते देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए । राप्रपाले शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा चियापान कार्यक्रम राखेको छ ।
फरक प्रसंगमा उनले आफ्नो पार्टी राप्रपाले नेपाललाई हिन्दूराष्ट्रको रुपमा पुनस्र्थापना गर्न माग राखेर आगामी फागुन ७ गतेबाट जनसंघर्ष गर्न लागेको पनि जनाए । आफूहरुले राखेका मागहरु फागुन मसान्तभित्र पनि पूरा नभए चैत १ गतेबाट जनसंघर्ष गर्ने थापाको चेतावनी छ ।


‘देशभन्दा ठूलो अर्को वाद हुन सक्दैन’
पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद हुन नसक्ने बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बिहीबार विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय एकताका प्रतीक मानिएका पृथ्वीनारायण शाहको योगदानको स्मरण गराएका हुन् ।
“एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण राष्ट्र निर्माणको दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरूको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं र हुँदैन । भुलेर, अलमलिएर र आफ्नो अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ । यसले बडामहाराजधिराजका दिव्योपदेशको औचित्य स्मरण गराइरहेको छ,” उनले विज्ञप्तिमा भनेका छन् ।
एउटा नागरिकका निम्ति देशभन्दा ठूलो अर्को वाद वा विचार हुन सक्दैन भन्दै नेपाली–नेपालीबीच फाटो पैदा गर्ने दूराग्रह बढाउने, सार्वभौमिकता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको उनले जनाएका छन् ।