जगन्नाथ दुलाल
शुक्रवार, पुष २७, २०७५
829

म्याद थप कि विघटन ?

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन पुनः अन्योलमा परेको छ । पार्टीले गत मंसिर २ गते २ महिनाका लागि म्याद थपे पनि एक दर्जन जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ ।
नेविसंघको केन्द्रीय समिति बैठकले यही पुस २८ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, सो मितिमा महाधिवेशन नहुने पक्का भइसकेको छ । कांग्रेसभित्र वर्तमान कार्यसमितिको म्याद थप गर्ने कि विघटन गरेर नयाँ आयोजक समिति बनाउने भन्ने बहस शुरु भएको छ ।

संघको विधानमा केन्द्रीय समितिको कार्यकाल २ वर्ष रहने र विशेष अवस्थामा कारण देखाएर ३ महिना म्याद थप गर्न सकिने र सोभित्र पनि महाधिवेशन नगरे स्वतः कार्यसमिति भंग हुने व्यवस्था छ । कांग्रेस केन्द्रीय समिति बैठकले सो थप मितिमा पनि अधिवेशन हुन नसकेपछि २ महिना थप्दै विघटन हुनबाट जोगाएको थियो । सो म्याद पनि माघ २ गते सकिँदैछ ।
नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले अहिले तय भएको मितिमा महाधिवेशनको सम्भावना टरिसकेको बताए । “महाधिवेशनको विकल्प महाधिवेशन नै हो । तर, संक्रमणकालिन अवस्थामा विधानअनुसार जान नसक्ने हो भने पनि अहिलेकै कार्यसमितिलाई आयोजक समितिमा रुपान्तरण गरेर महाधिवेशनतर्फ अगाडि बढ्नुपर्छ,” सहमहामन्त्री जोशीले भने ।
संघको कार्यकाल थप्न विधान संशोधन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसका लागि कांग्रेस केन्द्रीय समिति बैठक आवश्यक पर्छ । तर, कांग्रेस केन्द्रीय समिति बैठक माघ १० गते मात्र बोलाइएकाले त्यसअघि नै विधानतः नेविसंघ स्वत विघटन हुन्छ ।
नेविसंघका बारेमा अहिले छलफल नभएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत बताउँछन् । उनले माघ २ गतेअघि नै नेविसंघ विघटन गर्ने वा तदर्थ समिति बनाउने निर्णय हुने बताए । हालसम्म १२ जिल्लको अधिवेशन सम्पन्न भएको छ भने महोत्तरी र दैलेख २ जिल्लामा उद्घाटन सकिए पनि बन्द सत्र हुन सकेको छैन ।
कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधान बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने गर्दा गलत नजिर बस्ने भन्दै विधानअनुसार अघि बढ्नुपर्ने बताए । “विधानको मर्म २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने, नसक्दा कारण देखाएर ३ महिना थप्न मिल्ने हो । नभए स्वतः विघटन हुने विधान हामीले नै बनाएका हौैं,” संघका पूर्व अध्यक्ष तथा निर्देशक समितिका सदस्यका रुपमा विधान बनाउन भूमिका खेलेका घिमिरेले भने । पार्टीका सबै नेताको सहमतिमा विधान बनाएकाले सबै त्यसप्रति इमान्दार हुनुपर्नेमा उनले जोड दिए ।
विघटनको पक्षमा नेतृत्व रहेपनि महासमिति बैठक अगाडि विघटन गर्दा बैठकमा सो विषय नउठोस् भनेर २ महिना म्याद थपिएको थियो । अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुनमा गर्नेगरी त्रिभुवन विश्वविद्यालयले परिपत्र गरिसकेकाले वर्तमान कार्यसमितिकै म्याद थप्ने सम्भावना बढिरहेको सभापति शेरबहादुर देउवा निकट स्रोतको दाबी छ । तर, सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्षधर विद्यार्थी नेताहरु केही म्याद थप र केही विघटनको पक्षमा लबिङमा लागिसकेका छन् ।