कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४
905


हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपैयाँ खर्च भएको छ । खर्च गरिएको रकममध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लामा निकासा भएको छ भने आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ खर्च भएको तथ्यांक छ ।

निर्वाचन आयोगले दुई चरणमा सम्पन्न निर्वाचनको खर्च विवरण अइतबार सार्वजनिक गरेको हो । मंसिर १० र २१ मा गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन प्रयोजनका लागि सरकारले आयोगलाई १० अर्ब रुपैयाँ दिएको थियो । जसमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय बाँकी नै छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अब बाँकी रहेको बजेट राष्ट्रिय सभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्नका लागि सो रकम खर्च हुनेछ । आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गर्दै मितव्ययी तथा पारदर्शीरूपले खर्च गरेको दाबी गरेको छ ।
निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको र ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएको आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता ढकालले बताए ।