कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५
661

खोटाङ-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिका कार्यसमिति खोटाङले आयोजना गरेको जननायक विश्वेश्वरप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र रहेका गुट–उपगुटको अन्त्य गर्दै एकताबद्ध भएर अगाडि बढे कांग्रेसलाई मुलुकको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने बताए ।
कांग्रेसले मुलुकका लागि धेरै काम गरेको सबैलाई जानकारी नै रहेकोले आफूले भविष्यबाणी गर्न नखोजेको बताउँदै कोइरालाले चुनावमा तल पर्दैै गर्दा निरास हुनुपर्ने आवश्यकता नरहेकोमा जोड दिए । अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्नेमा कार्यकर्तालाई ढुक्क हुन उनले आग्रह गरे ।

कोइरालाले आफू कसैको विरुद्धमा नबोल्ने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसको योजना नेपाललाई समृद्ध बनाउने रहेको तर, दुर्भाग्यवश चुनावमा पराजित भएको बताए । उनले भने, “कांग्रेस केही प्राविधिक कारणले मात्र पराजित भएको हो, आगामी दिनमा कांग्रेसले आन्तरिक समस्या हल गर्दै आउँदो चुनावका लागि योजना निर्माण गर्नतर्फ लागेको छ ।”
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाको एकता बाँडीचुँडी खाने मेलोमात्र भएको टिप्पणी गरे । पौडेलले एकताको वहानमा राज्यकोषलाई मिलीजुली खाने मेलोमात्र बनाएको आरोप लगाए । संसारमा एउटै पार्टीका दुई अध्यक्ष भएको देश नेपालमात्र भएको र मिलीजुली खानलाई नेकपाको एकता भएको, केन्द्रमा एकता भए पनि तल्लो तहमा हालसम्म एकतामा समस्या रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिका कार्यसमिति खोटाङले चिसापानी बजारको बीच भागमा वीपीको अर्धकद शालिक निर्माण गरेको छ । उक्त स्थानमा वीपीको शालिक २०५४ सालमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले अनावरण गरेका थिए । तर, सशस्त्र द्वन्द्वको समयमा तत्कालिन विद्रोही समूह खम्बुवानले २०५८ सालमा शालिक भत्काइदिएको थियो ।