कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५
644

राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरे छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । नेता कर्णले संविधान संशोधन गर्ने सहमतिपश्चात् मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हालसम्म पनि त्यसतर्फ सरकारले कुनै चासो नदेखाएकाले छठलगत्तै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरिने जानकारी दिए ।
काठमाडौंमा सोमबार आयोजित अन्तरसंवादमा कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्र्याउन खोजेको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गरे । उनले भने, “प्रदेश नम्बर २ सरकारले मात्र होइन, यस्ता ऐन अब हरेक प्रदेशले ल्याउनुपर्छ” । संघीयता नरुचाउनेहरुले प्रदेश नम्बर २ सरकारले ल्याएको ऐनलाई विरोध गरेर संघीयतालाई नै कमजोर बनाउने षड्यन्त्र गरिरहेको समेत उनले आरोप लगाए ।