कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५
699

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता सबैलाई घाँडो भइसकेको भन्दै आफ्नो पार्टीले खारेजीका लागि संसद्मा संशोधन प्रस्ताव लैजाने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भारमात्र बढाउन छलकपटपूर्ण तरिकाले लागू गरिएको भन्दै संशोधन लैजाने बताएका हुन् ।
अहिले जनता स्वयं नै संघीयताको विपक्षमा रहेको बताउँदै अध्यक्ष केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए । कांग्रेस र नेकपाले समेत संघीयता नचाहेको तर बाध्यतामा परेर संघीयता स्वीकारेको उनको दाबी थियो ।

उनले संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाइदिएको एजेण्डा भएको दाबी गरे । नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको उनको भनाइ थियो ।
“नेपालमा संघीयता ‘खर्च न बर्च, काँसी जानुपर्छ’ भनेजस्तै भएको छ । अहिले ठूला दलहरुलाई पनि संघीयता ‘नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तै भएको छ,” उनले भने ।