कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५
768

जनकपुरधाम-प्रदेश नम्बर २ सरकारले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको सुझावअनुसार संघीय प्रहरी ऐनको लागि एक महिनासम्म बाटो कुर्ने भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारसँग समन्वय र सहकार्यको लागि तत्पर रहेको भन्दै एक महिनासम्म सरकारको प्रतीक्षा गर्ने बताएका छन् ।
उनले भने, “यदि संघीय सरकारले एक महिनासम्ममा संघीय प्रहरी ऐन नल्याए हामी हाउसमा प्रस्ताव लगी पारित गराउँछौँ,” उनले भने, “त्यसको लागि हामीलाई पनि आन्तरिक तयारमा जुट्नुपर्ने भएकोले हामी संघीय सरकारको बाटो कुर्छौँ ।”

प्रदेश नम्बर २ सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णय सहित २ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिई प्रदेश सभामा छलफलका लागि पेस गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जनाएअनुसार बैठकबाट २ वटा विधेयकलाई प्रदेश सभामा छलफलका लागि कात्तिक १३ गते प्रदेश सभाको बैठक बस्ने भएको छ । त्यसैगरी लागू पदार्थ सेवन सम्बन्धी ऐन र सोको विरुद्धमा अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ भने करार सेवासम्बन्धी ऐनलाई प्रदेश सभामा छलफलका लागि लैजाने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले बताए ।
प्रदेश नम्बर २ को सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णयहरु गरेका छन् । जनकपुरमा हुन लागेको विवाह पञ्चमीको व्यवस्थापन तथा जानकी मन्दिरको सौन्दर्यीकरणको लागि ५० लाख रुपैयाँ दिने, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा मन्त्रीहरुको आवास रहेकोलाई मधेश भवन नामाकरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले जनाए ।
बैठकले प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम) अनुसारको कर्मचारी एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै एक महिनाभित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफंै व्यवस्था गर्ने निर्णय समेत मन्त्रीपरिषद् बैठकले गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई सैद्धान्तिक सहमति मन्त्रालयबाट लिईसकिएकोले हालको लागि संघीय सरकारको बाटो एक महिनासम्म कुर्ने बताए ।
किरण कर्ण


सातामा धेरै पढिएको