कारोबार संवाददाता
सोमवार, कार्तिक १२, २०७५
669

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलगायत समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार बिहान छलफल गरेका छन् । आगामी छठभित्र संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटमको समयसीमा नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले संयोजक ठाकुरलाई बालुवाटार बोलाएर छलफल गरेका हुन्
प्रधानमन्त्री ओलीले संघीयता र गणतन्त्र विरोधीहरूको सक्रियताबारे ठाकुरसमक्ष चिन्ता व्यक्त गरेका थिए । राजपा पनि लोकतान्त्रिक, गणतान्त्रिक र संघीयताका लागि संघर्ष गरेको पार्टी भएकाले यस विषयमा भइरहेको षड्यन्त्रबारे मिलेर जानुपर्ने आवश्यकतामा प्रधानमन्त्रीको चिन्ता रहेको स्रोतको भनाइ छ । संयोजक ठाकुरले सहिदको रगतबाट संघीयता लेखिएकोले यसको रक्षाका लागि खुट्टा कमाउन नहुनेमा जोड दिँदै संविधान संशोधन गरी राजनीतिक निकास दिन सरकार प्रमुखका हैसियतले परिणाममुखी पहल लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

ओली नेतृत्वको सरकार गठन हुँदा राजपाले सरकारलाई समर्थन गरेको थियो । संविधान संशोधनलगायत माग पूरा गर्ने सर्तमा दिइएको समर्थनबारे अहिलेसम्म सरकार मौन रहेकोमा ठाकुरले गुनासो गरेका थिए । विश्वासको आधारमा सरकारलाई दिइएको समर्थन फिर्ता लिने चाहना आफूहरूको नभएको भन्दै ठाकुरले राजनीतिक रूपमा गरिएका विश्वासलाई मूर्तरूपमा परिणत गर्नुपर्ने अहिलेको राजनीतिक आवश्यकता रहेको जनाएका थिए ।
राजपाको दोस्रो पंक्तिका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएर राजनीतिको बाटोलाई अर्कोतर्फ मोड्नुपर्नेमा दबाब दिइरहेका छन् । यस विषयमा पनि ठाकुरले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको स्रोतले जनायो ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल संविधान संशोधनको विषयमा सकारात्मक रहँदै आएका छन् । प्रधानमन्त्री ओली भने संविधान संशोधनबाट निस्कने राजनीति आफू अनुकूल हुने–नहुने दोधारे मानसिकतामा रहेको बताइएको छ । संविधान संशोधनको विषयमा संघीय समाजवादी फोरमको तर्फबाट पनि दबाब ओलीलाई रहेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव अहिले उपप्रधानमन्त्रीको हैसियतमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भएका छन् । प्रदेश नम्बर २ मा राजपाको सहयोगमा फोरमको नेतृत्वमा सरकार बनेको छ । प्रदेश नम्बर २ र संघीय सरकारबीच पछिल्ला केही महिनादेखि तनाव छ । यी सबै विषयमा ओलीको ठाकुरसँग छलफल भएको हो ।