कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५
794

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विसर्जनवादी भएकाले मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने खुलासा गरेका हुन् ।
अध्यक्ष कट्टेलले वर्तमान सरकार दलाल पुँजीवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरे । उनले भने, “ओली–प्रचण्डजीहरु आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरुलाई भोट पनि दिए । तर ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रुपमा हामी उभिनेछौं । कम्युनिष्ट मूलधारमा आउनुपर्छ । मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।”
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रुपमा नाम दिएको कुरा सञ्चारमाध्ययममा सुनेको बताउँदै अध्यक्ष कट्टेलले आफूहरु त्यसको विरुद्धमा अदालत जाने जानकारी दिए । उनले भने, “नाम फरक देखाउनको लागि ओली–प्रचण्डले कोष्ठभित्र नेकपा राख्नुभएको छ, त्यो सरासर गलत छ । यो जनतालाई भ्रममा पार्ने खेल हो । जनता यसप्रति सजग हुनुपर्छ । निर्वाचन आयोगले पनि गल्ती गरेको छ । उहाँहरुले सत्ता र शक्तिको भरमा बलजफ्ती गर्न थाल्नुभएको छ ।” उनले दल दर्तासम्बन्धी ऐनलाई धज्जी उडाउँदै सरकारी शक्तिको आधारमा कम्युनिष्ट सरकारको नाममा हेप्न खोजे राम्रो नहुने चेतावनी पनि दिए ।