कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५
792

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिकोे गएको भदौ ९ गते बसेको बैठकले मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।
शनिबार केन्द्रीय कार्यालय सानेपामा महासमिति बैठकको तयारीका सन्दर्भमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका केन्द्रीय पदाधिकारीहरू र उपत्यकाका तीनै जिल्ला कार्यसमितिहरूको संयुक्त बैठकले महासमितिको बैठक भृकटीमण्डपमा गर्ने निर्णय गरेको हो ।

काठमाडौँ जिल्ला कार्यसमितिका सभापति सबुज बानियाँको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिलाई महासमितिको बैठक र यही कात्तिक १६ गते केन्द्रीय कार्यालय सानेपामा हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गराउने सन्दर्भमा सभापति देउवाले निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शनिबार नै स्थानीय व्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर कार्यसमितिको समेत बैठक बसेको छ । सो बैठकले महासमितिको बैठक र चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम व्यवस्थित र भव्य बनाउनका लागि तीनै जिल्लालाई परिचालन गर्ने निर्णय गरेको छ ।
महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन हुनेछन् । सोबारे छलफल गर्न स्थानीय व्यवस्थापन समितिको अर्को बैठक यही कात्तिक १२ गते अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने काठमाडौं सभापति सबुज बानियाँले बताए ।

‘जघन्य अपराधका दोषी पत्ता नलाग्नु कानुनी राज्यका लागि चुनौती’
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महिनौँसम्म पत्ता नलाग्नु कानुनी राज्यका लागि चुनौती बनेको बताएका छन् । तरुण दलले शनिबार सानेपामा स्थापना दिवसका अवसरमा आयोजना गरेको चियापानमा सभापति देउवाले भने, “हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महिनौँसम्म पत्ता नलाग्नु कानुनी राज्यका लागि चुनौती बनेको छ । यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस् ।”
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरे । उनले दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि संगठन लागिपर्ने बताए । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह संगठित गर्ने क्रममा वि.सं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको थियो ।