कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५
791

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौंको भृकुटीमण्डपमा चियापान आयोजना गरेको छ । गत जेठमा भएको तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापश्चात् विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा पहिलो पटक चियापानको आयोजना गरिएको हो । तर, एकतापछिको पहिलो चियापानमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहे । ओली अस्वस्थताका कारण चियापानमा सहभागी हुन नसकेको उनका स्वकीय सचिव राजेश बज्राचार्यले बताए । बज्राचार्यका अनुसार रुघाखोकीले स्वास्थ्यमा समस्या देखिएकाले ओली चियापानमा सहभागी नभएका हुन् । ओली प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेको उनले जानकारी दिए ।
दिउँसो १२ बजे सुरु भएको चियापान साँझ ५ बजेसम्म चलेको थियो । नेकपाले चियापानका लागि ५० हजारलाई निम्त्याएको थियो ।
चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसदहरु, संवैधानिक अंगका पदाधिकारी, सर्वसाधरण लगायत उपस्थित थिए । चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसीलगायत पनि सहभागी भए । भारतीय कम्युनिष्ट पार्टी (भाकपा) माक्र्सवादीका महासचिव सीताराम यचुरी पनि चियापानमा उपस्थित थिए ।

बहिष्कारको पर्चा छर्नेमाथि कुटपिट
चियापान स्थलमा केहीबेर तनावसमेत भएको थियो । चियापान बहिष्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूहले कार्यक्रमस्थलमा पर्चा बाँडेपछि तनाव भएको थियो । असन्तुष्टले बाँडेको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।
समानताको आधारमा एकता गरिनुपर्ने, विप्लव, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका कम्युनिष्ट पार्टीलाई पनि एकतामा ल्याइनुपर्ने, तत्कालिन नेकपा माओवादीको तर्फबाट नातावाद र कृपावादका आधारमा नेकपाको केन्द्रीय सदस्य बनेकाले त्यसलाई विघटन गरेर नयाँ केन्द्रीय समिति बनाइनुपर्ने, नागरिकको जनजिविकाको सवालमा पार्टीले तत्काल पहलकदमी लिनुपर्नेलगायत माग उनीहरुको छ । असन्तुष्टले कार्यक्रम स्थलमा बहिष्कारको पर्चा बाँडेपछि नेकपा कार्यकर्ताले पर्चा बाँड्ने माथि कुटपिट समेत गरेका थिए ।

‘मेलमिलाप सत्तापक्षको जिम्मामा’
नेपाली कांग्रे्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताएका छन् । विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डप बगैंचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरेका हुन् ।
देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, “मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा छ ।”