कारोबार संवाददाता
बिहिवार, कार्तिक ८, २०७५
779

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा विगत ४१ वर्षदेखि आयोजना गर्दै आएको चियापान कार्यक्रम यसवर्ष यही कात्तिक १६ गते एउटै समयमा देशभरका सबै जिल्लामा गर्ने भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको एकै ठाउँमा चियापान आयोजना गरे पनि अन्य ७४ जिल्लामा भने छुट्टाछुट्टै चियापानको आयोजना हुने भएको छ ।
मेलमिलापको नीति लिएर वीपी कोइराला नेपाल फर्किएपछि उनले चियापानको क्रम सुरु गरेका थिए । ०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान गर्दै आएको छ । जसलाई कांग्रेसले अहिलेसम्म निरन्तरता दिएको छ भने अन्य राजनीतिक दलहरुले समेत यसको सिको गरेका छन् ।

४१ वर्षसम्म काठमाडौंमा मात्रै हुँदै आएको चियापन यो वर्ष उपत्यकाका ३ जिल्लाबाहेक सबै जिल्लामा एउटै समय र शैलीमा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेस नेता चक्र बास्तोलाको निधन भएको १२ दिन पुग्ने भएकाले चियापानको मिति भने कोजाग्रत पूर्णिमाको दिनमा नभई कात्तिक १६ गते १ बजेका लागि तय गरिएको शर्माले बताए ।
“जसरी केन्द्रमा सबै राजनीतिक दलका नेताहरु, विभिन्न निकायका प्रमुखहरु, कूटनीतिज्ञलगायतका विशिष्ट व्यक्तिहरुलाई एउटै थलोमा बोलाएर चियापान आयोजना गरिँदै आएको छ,” शर्माले भने, “त्यसैगरी हरेक जिल्लामा त्यहाँका सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न राजनीतिक दलका जिल्लास्तरीय नेता, स्थानीय तहका जनप्रतिनिधिलाई निम्त्याएर चियापान हुनेछ ।” उनले केन्द्र र जिल्लामा गरिने चियापानको शैली र समय एउटै हुने पनि बताए । सबै ठाउँमा कात्तिक १६ गते दिउँसो १ बजे चियापान सुरु हुनेछ ।

नेकपाको चियापान शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी शनिबार दसैं, तिहार र छठका अवसर पारेर चियापानको आयोजना गर्ने भएको छ । पार्टी एकतापछि पहिलो पटक हुन लागेको चियापान भृकुटीमण्डपस्थित बगैँचामा हुने र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्दै आएका थिए । चियापानमा करिब ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार चियापानमा करिब ३५ हजार सहभागी हुने छन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म चल्नेछ ।
केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्याइएको जनाए । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् ।