कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५
851

जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघलाई चुनावको चटारो लागेको छ । महेन्द्रगरमा अहिले व्यापारी, व्यवसायी र उद्योगीहरूको चहलपहल निकै बढेको छ ।
क्षिरेश्वरनाथ वाणिज्य संघ कार्य समिति चयन सर्वसम्मतिबाट हुन नसकेपछि निर्वाचनको तयारीमा जुटेको हो । संघको निर्वाचनका लागि उम्मेदवारहरूकोे उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार महेन्द्रनगरस्थित व्यापारीहरूको जमघट रहेको व्यापारिक केन्द्रमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पक्षधरबीच तीव्र प्रतिस्पर्धा भएको छ ।
नेकपाको तर्फबाट अध्यक्षका उम्मेदवार राजकुमार महासेठले पूरा सिटमा नै आ–आफ्नो प्यानल खडा गरेर उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेस पक्षधर अध्यक्षका उम्मेदवार सुरेश यादवले पनि टिमसहित उम्मेदवारी दर्ता गराएका छन् ।
महासेठ प्यानलबाट उपाध्यक्षमा ललित साह, महासचिवमा सुनिल साह, सचिवमा जंगीलाल महतो र कोषाध्यक्षमा विजयकुमार साहको उम्मेदवारी दिएका छन् भने यादवको प्यानलबाट उपाध्यक्षमा विनयकुमार साह, महासचिवमा दीपक साह, सचिवमा अजयकुमार महतो र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद साह सुडी छन् ।
त्यसैगरी सदस्यहरूमा क्रमशः महासेठको प्यानलबाट राजनारायण प्रसाद साह, सञ्जयकुमार साह, बसन्त कुमार ठाकुर, मनोज साह मुरारी र रामवली साह सुडी छन् भने यादव प्यानलबाट शशी जयसवाल, रामचन्द्र महतो, गौतम ठाकुर सोनार, राजकिशोर राउत कुर्मी र मनोजकुमार साह छन् ।
महिला सदस्यहरूमा कविता कुमारी देवी र कुमारी देवी साहको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको निर्वाचन कात्तिक ९ गते हुँदैछ । दुवै पक्षका व्यापारी नेताहरू चुनावी प्रचार–प्रसार अभियानमा तीव्र रूपमा लागिपरेका छन् ।
संघको गत असोज २२ गते सम्पन्न भएको सधारणसभा पछि सुरु भएको बन्द सत्रबाट विभिन्न पदका लागि सर्वसहमति नभएपछि कात्तिक ९ गतेको लागि निर्वाचनबाट पदपूर्ति गर्ने निर्णय गरेको थियो ।
यस निर्वाचनमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघको पदपूर्ति गर्न ११ सिटका लागि २२ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै उम्मेदवारहरूको प्रचार–प्रसारका लागि मंगलबार कात्तिक ६ देखि ८ गतेसम्म तोकिएको छ भने कात्तिक ९ गते बिहान ८ बजेदेखि बेलुकी ३ बजेसम्म चुनाव गराउने निर्वाचन समितिले जनाएको छ ।