कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५
1233

नेपालगन्ज-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधी र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टी विधी र पद्धतिभन्दा बाहिर सञ्चालन गर्न खोजिएमा त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन् । बाँकेको कोहलपुरमा आयोजना गरिएको नेकपाका पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रका अन्तर विरोधहरुलाई नेतृत्वले गलत नठानेर सही ढंगले टुग्याउनु पर्नेमा जोड दिए ।
कुनैपनि पार्टीको सबैभन्दा महत्वपूर्ण शक्ति त्यसका कार्यकर्ताहरु भएको जनाउँदै नेता नेपालले नेकपाका कार्यकर्ताहरुको भावना र विचारलाई पनि सधैं शिरोधार्य गर्नुपर्ने आवश्यकता औंल्याए । पार्टी एकीकरणको काम तिव्र गतिमा अगाडि बढेको जनाउँदै उनले यो एकीकरणबाट धेरै शक्तिहरु खलबलिएकोले एकीकरण हुन नदिने खेलमा लागेको बताए ।

पार्टी एकीकरणको प्रक्रिया माथिल्लोदेखि तल्लो तहसम्म हुने जनाउँदै उनले भने, “केन्द्रीय कमिटीको पनि एक पाटोमा मात्रै एकीकरण भएको छ, धेरै कामहरू बाँकी छन् । अबको स्थायी समितिको बैठकपछि एकता प्रक्रिया द्रूत गतिमा अघि बढ्नेछ ।”
नेकपाले यही कात्तिक १२ र १३ गते स्थायी समितिको बैठक बोलाएको छ । वामदेव गौतमजस्ता नेताको आवश्यकता देशको संसद्लाई खट्किएकोले नै उनलाई पार्टीले निर्वाचन लडाउन खोजेको जनाउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जितेकै ठाउँमा पनि समस्या हुन सक्ने र विपक्षीहरू सल्बलाउन सक्ने भएकाले काठमाडौं–७ बाट गौतमलाई ‘ब्याक’ गराइएको बताए ।