कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५
922

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, “वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै वरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन भनेर भन्नुभएको छ ।”
सरकारले अहिलेसम्म राहतका काम केही पनि गर्न नसकेको उनले आरोप लगाए । उनले भने, “चामल, दाल, तेल, चिनीको मूल्य वृद्धि गरिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य उपभोक्ताको ढाड सेक्नेगरी बढाइएको छ । जिम्मेवार मन्त्रीहरु तस्करहरुलाई संरक्षण दिने काम गरिरहेका छन् । चिनीको मूल्यवृद्धि पनि त्यसैको परिणाम हो ।”

सरकारले समृद्धि हासिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने, “अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन । कर्मचारीलाई तलब नदिँदा दसैं मनाउन पाएनन् । आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ । यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ । समृद्धि र स्थिरतामा सरकार असफल भएको छ ।”
नेता साउदले नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने, “हुँदाहुँदा अब मुख्यमन्त्रीहरुले भेला आयोजना गरेर हामीलाई अधिकार प्रत्यायोजित गरिएन भनेर गुनासो पोखे । यसले संवैधानिक विशृंखलता उत्पन्न गराउँछ । संविधान र संघीयतालाई नै असफल बनाउने बाटोतर्फ यो सरकार हिँडिरहेको छ ।”
निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा उनले आपत्ति जनाए । उनले भने, “सारा राज्य लागेको छ, तर अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन । सरकारले केही कर्मचारी र प्रहरी अधिकारीलाई निलम्बित गरेर जनताको मुख्य ध्यान भड्काउन खोज्दैछ । बलात्कारीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।”