कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५
1472

जनकपुरधाम-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि एकआपसमा समन्वय र सहकार्य गरी अगाडि बढ्न अपिल गरेका छन् । मंगलबार जनकपुरमा विजयादशमी, दिपावली, छठ तथा इदको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले एक वर्षभित्र नेकपा र संघीय सरकारले यस प्रदेशलाई प्राथमिकता राखेको पुष्टि हुने बताए ।
उनले यही प्रदेशमा रहेको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ फास्टट्रयाक, जनकपुर–कुर्था–बर्दिवाससम्मको रेल्वे र सुनकोशी डाइभर्सन निर्माणले प्रदेशको कायापलट हुने बताउँदै यहीबाट आर्थिक क्रान्ति हुने दाबी गरे ।

उनले देश विखण्डन र सरकार विघटन गर्ने चाहना राख्नेहरुलाई सम्राज्यवादी र प्रतिक्रियावादीको आरोप लगाए । मुलुकमा दुईतिहाई बहुमतको सरकारलाई विभिन्न जालझेल र बाइपास गर्ने चाहना राख्नेहरु पनि रहेको टिप्पणी गरे । संघीय सरकारले अधिकार दिएन भनेर प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउनु बुद्धिमत्तापूर्ण नभएको उनले बताए ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउततर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, “तपार्इंले ओभरटेक ग¥यो भने दुर्घटना हुन्छ, दुर्घटना हुने गरी अगाडि नबढौँ । हामी गम्भिर र संवेदनशील छौं, कर्मचारी चाहिएकै हो, प्रहरी चाहिएकै हो, तर यति भनेर झन् गल्ति नगरौँ ।”
संविधान संशोधनको लागि पनि अघि बढिरहेको बताउँदै उनले आवश्यकताअनुसार संविधान संशोधन हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली, म र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सँगै बसेर संविधानलाई परिमार्जन गर्दै संशोधन गर्ने हस्ताक्षर भइसकेकोले आवश्यकता अनुकूल संशोधन हुनेछ ।”
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले गाउँ–गाउँमा सिंहदरबार पुगेको भने पनि अहिलेसम्म पनि सिंहदरबारको पर्खालभित्रै रहेको बताए । “हामीसँग ५ हजार कर्मचारी हुनुपर्नेमा २ सय ५० जनामात्रै छन् । हामीलाई केन्द्र सरकारले सहयोग गरेन । त्यसैले प्रदेश प्रहरी ऐन र करार कर्मचारी भर्ना ऐन ल्याएर आफैंले काम थाल्न लागेका हौं,” उनले भने ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले संघीय सरकारलाई गाली गर्ने मानसिकता त्याग्न आग्रह गर्दै एक अर्कासँग समन्वय र सहकार्यको माध्यमले देशको विकास र समृद्धिको बाटोमा लम्किनका लागि आग्रह गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, नेकपाका प्रदेश संसदीय नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेसका संसदीय नेता रामसरोज यादव, संघीय सांसद जुली महासेठ लगायतकाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।