कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५
722

विराटनगर-नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार असफलता उन्मुख रहेको बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गएको आठ महिनाको कार्यशैली हेर्दा सबै पक्षमा सरकार असफल भइसकेको दाबी गरे ।
“कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न सकेको छैन । सरकार शान्त सुरक्षासँगै विकास निर्माणमा समेत असफल भइसकेको छ,” गच्छदारले भने, “तर, सरकारले आत्मरतिमा रमाइरहेको छ ।”

उनले दुई तिहाईको बहुमत प्राप्त कम्युनिष्ट सरकारसँग थप चार वर्ष बढी समय रहेको बताउँदै सो अवधिमा राम्रो पर्फोमेन्स गर्नसके ‘रिकभर’ हुने सम्भावना रहे पनि अहिलेको अवस्थाले सरकार असफलता उन्मुख रहेको दाबी गरे । गच्छदारले सरकार असफल भए धेरै क्षेत्रमा प्रतिकूल असर पर्न सक्ने भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । महँगी, बलात्कार, हत्यालगायत आपराधिक घटना बढ्दा पनि सरकार मौन देखिएको भन्दै गच्छदारले आपत्ति जनाए ।
नेता गच्छदारले वर्तमान अवस्थामा जनताको जनादेशअनुसार नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र संगठन सुदृढीकरणमा लाग्ने बताए ।