कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५
950

विराटनगर-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महासमिति बैठकपछि पार्टीभित्रको गुटबन्दी समाप्त हुने दाबी गरेका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले गुटबन्दीको शिकार भएकै कारण गएको निर्वाचनमा कांग्रेसले पराजय भोग्नुपरेको बताए ।
“विगतका तितामिठा कुराहरूलाई त्यागेर पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्नुको विकल्प छैन,” कोइरालाले भने, “विगतमा अरुको कारणले नभई आफ्नै कारणले पार्टीले पराजय भोग्नु परेको हो । विगतका गल्तीहरूलाई सच्चाएर अगाडि बढ्नुपर्छ ।”

आगामी दिनमा गुटबन्दी अन्त्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गरेर मात्र संगठन सुदृढीकरणमा अघि बढ्दा राम्रो हुने विचारसमेत व्यक्त गरे । वर्तमान अवस्थामा समेत कांग्रेसको अस्तित्व बलियो रहेको दाबी गर्दै कोइरालाले भने, “आगामी ४ वर्षपछि हुने आमनिर्वाचनमा एकताबद्ध भएर अघि बढे कांग्रेलाई कसैले हराउन सक्दैन ।”
महामन्त्री कोइरालाले पार्टी सभापति मात्रले नभई सबैको केही न केही गल्तीका कारण विगतको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको दाबी गरे ।

 


सातामा धेरै पढिएको