कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५
624

 नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सरकार कार्यकर्ता र आसेपासलाई पोस्नमा मात्रै केन्द्रित भएको आरोप लगाए ।
उनले भने, “यो सरकारबाट जनपक्षीय काम हुन्छ भनेर अब आशा नगर्दा हुन्छ । सरकार पूर्ण रुपमा असफल भइसक्यो ।” निधिले वर्तमान सरकारले दुई तिहाईको सरकार भएर पनि जनताको पक्षमा कुनै काम गर्न नसकेको दाबी गरे । “दुई तिहाई जनमत प्राप्त सरकारले अहिलेसम्म सम्झन लायक काम गर्न सकेको छैन,” निधिले भने, “अब पनि गर्ने छाँटकाँट छैन ।”
उनले पछिल्लो समय नेकपाका समर्थकहरूले समेत सरकारले संविधान र जनताको पक्षमा कुनै काम गर्न नसकेको विषय उठाइरहेको बताए । आफ्नै पार्टीभित्रबाट सरकारको आलोचना हुनुले पनि सरकार असफल भइसकेको पुष्टि भएको उनको दाबी थियो । उपसभापति निधिले कांग्रेस परिपक्व र ऐतिहासिक अनुभव हासिल गरेको पार्टी रहेको धारणा राख्दै कांग्रेसले अहिले सरकारको अकर्मण्यतालाई जनता समक्ष राख्ने काम गरिरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र जनताको पक्षमा काम गर्न कांग्रेस प्रतिबद्ध रहेको प्रष्ट गरे । निधिले विधान संशोधन र महासमितिको बैठकपछि पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य हुने दाबीसमेत गरे । “महासमितिको बैठकपछि पार्टीभित्रको सबै समस्या समाधान हुन्छ,” उनले भने ।