जगन्नाथ दुलाल
मंगलबार, कार्तिक ६, २०७५
1050

नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेका हुन् ।
सभापति शेरबहादुर देउवाले नेविसंघमा ३२ वर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । त्यसपछि गत असोज २५ गतेका लागि बोलाइएको बैठक उनीहरुले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक नबस्दा महासमिति बैठक सर्ने डर भएको बताए । “विधान मस्यौदा समितिका साथीहरूले तयारी त गर्दै हुनुहुन्छ । तर, उहाँहरूले मात्र गरेर पुग्दैन,” उनले भने, “केन्द्रीय समितिमा सबै केन्द्रीय सदस्यले विधानमा आफ्नो धारणा राख्नुहुन्छ । त्यसका लागि कम्तीमा १२ देखि १५ दिन लाग्छ । मलाई महासमितिको मिति फेरि सारिन्छ कि भन्ने डर छ ।” उनले महासमिति बैठक ढिला गर्दा सभापति शेरबहादुर देउवाले आफ्नो लम्ब्याउन खोजेको सन्देश जाने भन्दै त्यसले संगठन कमजोर हुने बताए ।
तर, प्रवक्ता विश्वप्रकाश शर्माले भने निर्धारित मितिमै महासमिति बैठक बस्ने दाबी गरे । “दसैंको एकादशीको दिनमा समेत जसरी विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको छ । त्यसले विधान छिट्टै तयार हुनेमा विश्वस्त छु,” शर्माले भने, “बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको छ । त्यसकारण महासमिति बैठकको मिति अगावै विधान तयार हुन्छ, मिति सर्दैन ।”

७४ जिल्लामा चियापान
०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान यस वर्ष ७४ जिल्लामा गर्ने भएको छ । ४१ वर्षसम्म काठमाडौंमा मात्रै हुँदै आएको चियापन यो वर्ष उपत्यकाका ३ जिल्लाबाहेक सबै जिल्लामा एउटै समय र शैलीमा हुने प्रवक्ता शर्माले बताए । कांग्रेस नेता चक्र बास्तोलाको निधन भएको १२ दिन पुग्ने भएकाले चियापानको मिति भने असोज १६ गते १ बजेका लागि तय भएको छ ।
त्यस्तै, तिहारअघि ७७ वटै जिल्लामा बजार मूल्य वृद्धिविरुद्ध कांग्रेसले प्रदर्शन गर्ने भएको छ । सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने छ । केपी ओली नेतृत्वको सरकार बन्नुअघि र अहिलेको तथ्यांकसहितको बजार मूल्य सार्वजनिक गरिने पनि शर्माले बताए । यसको मिति भने तय नभइसकेको उनले बताए ।


सातामा धेरै पढिएको