कारोबार संवाददाता
आइतवार, असार ३, २०७५
814

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाद्वारा आयोजित विज्ञ भेला अमेरिकाको सनफ्रान्सिस्कोमा शनिबार सम्पन्न भएको छ ।
नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति सो विज्ञ भेला सम्पन्न भएको हो । भेलामा ३ सस जनाभन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत् बनाउने विषयमा भेला केन्द्रित भएको थियो ।
नेपालमा संक्रमणकालीन अवस्थाको अन्त्य भई नयाँ राजनीतिक संरचना र स्थिर सरकार गठन भएको सन्दर्भमा यो सम्मेलनले नेपालको आर्थिक र समाजिक विकासका योगदान दिनेछ । विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेको विज्ञता, सीप र दक्षतालाई नेपालको आवश्यकताअनुसार कसरी उपयोग गर्न सकिन्छ भन्ने पहिचान गरी नेपाल सरकारसँग मिलेर अर्को बृहत् सम्मेलन आयोजना गर्ने पूर्व तयारीका रूपमा यो सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा विभिन्न ७ वटा विषय शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नवीकरणीय ऊर्जा, आर्थिक, सामाजिक क्षेत्रसँग सम्बन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सीप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास आदि क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्रमाथि नेपालमा कसरी दक्षता, ज्ञान र सीप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरूमाथि छलफल भएको थियो ।
उक्त अवसरमा एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार बढ्ने वेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको हामीले अनुभुति गरेको बताए ।  नेपाल समृद्धि तर्फ अघि वढिरहेको हुनाले यसमा विदेशमा बस्नेहरुले पनि आफ्नो भूमिका खोजेर सहयोगी बन्नु पर्ने भन्दै उनले नेपाललाई समृध्द बनाउन देशभित्रको स्रोत साधनले मात्रै पुग्दैन त्यसैले बाहिरको प्रविधि र स्रोत साधन भित्र्याउन सक्नु पर्ने बताए ।
सम्मेलनमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ण्यनमन्त्री रवीन्द्र अधिकारी, पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्वपर्यटनमन्त्री रेवतीप्रसाद भुसाल, अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की, न्युयोर्कका लागि महावाणिज्यदूत मधु मरासिनी तथा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरू डा. हेमराज शर्मा, हरिबोल भण्डारी आदि एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रिय अभियन्ताहरूको सहभागिता थियो ।
यस्तै, पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधै नेपाली नै हुन्छ भुतपुर्व वा वर्तमान भन्ने हुदैंन भने । हामी नेपाली जहां वसेपनि नेपाली नै हौं भन्दै मन्त्री अधिकारीले देश बनाउने क्षमता नेपालकोले मात्र नपुग्ने हुनाले गैरआवासीय नेपालीहरुको सहयोग र सकृयता पनि चाहिने बताए । वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रुपमा वस्ने नेपालीलाई भुतपुर्व नेपाली हुन भनेको विषयप्रति अमेरिकाका नेपालीहरुले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीलाई यसवारेमा प्रश्न उठाएका थिए । यही क्रममा मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिएका हुन् । सरकारले विदेशमा वस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रो संग वुझेको छ मन्त्री अधिकारीले भने, हामी संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रावधान प्रति प्रतिवद्ध छौं यो आउने बर्ष भित्र आवश्यक कानुन तयार भएर आउंछ ।
कार्यक्रम एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीको संयोजनमा भएको थियो । एनआरएनए अमेरिकाको साधारणसभाको पूर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेला सम्पन्न भयो ।
कार्यक्रममा अमेरिका, क्यानाडा, बेलायत, जापान, मलेसिया, जमर्नी, रसिया, साइप्रस लगायतका देशहरूबाट सहभागिता थियो । एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनआरएनए क्यानाडाका अध्यक्ष गोपीकृष्ण काफ्लेलगायतका पदाधिकारी सहभागी थियो । विज्ञ भेलाको कार्यपत्र र प्रस्तुतिको संयोजन डा. रुद्र अर्यालको समूहले गरेको थियो ।
गैरआवासीय नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासका लागि उपयोग आवश्यक छ । तसर्थ एनआरएनए विदेशमा हुनुभएका विविध क्षेत्रका विज्ञहरूसँग समन्वय गरेर पुलको रूपमा नेपाल सरकार, नीति निर्माता र निजी क्षेत्रसँग काम गर्न प्रतिबद्ध छ ।
सो अवसरमा मन्त्री रवीन्द्र अधिकारीले विज्ञ सम्मेलनको निष्कर्षलाई सरकारले आत्मसात गर्ने प्रतिबद्धता गरेकोमा एनआएनएलाई थप हौसला जनाइएको छ । गैरआवासीय नेपाली विज्ञहरूले विदेशमा आर्जन गरेको सीप, दक्षता, ज्ञान र अनुसन्धान दस्तावेजलगायतको पहिचान गर्दै देशको समृद्धिका लागि उपयोग गर्न सहयोग हुने गरी विवरण राख्ने व्यवस्था एनआरएनएले गर्नेछ । विज्ञ भेला तथा काठमाडौंमा हुने सम्मेलनबाट आएका निष्कर्षलाई नेपालको समृद्धिमा उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गर्दै संघले दीर्घकालीन कार्यक्रमहरूको तर्जुमा गर्नेछ । क्षेत्रीय रूपमा सम्पन्न हुने विज्ञ भेलाहरू र आगामी अक्टोबरमा काठमाडांैमा हुने सम्मेलनबाट आएका निष्कर्षहरूलाई श्वेतपत्र तयार गरी नेपाल सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।
“नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा एनआरएनएलाई प्रमुख साझेदार बनाउने मन्त्री अधिकारीको आग्रहलाई स्वीकार गर्दै हामी यसका लागि सक्रिय भई सफल बनाउन हाम्रो सञ्जाललाई अधिकतम् उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छांै । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधानमा उल्लेखित गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधानलाई सकेसम्म छिटो आवश्यक कानुन बनाएर लागू गर्न यो भेलाको सरकारलाई आग्रह छ ।”