कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
372

इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीहरूले अशक्त र गरिवलाई सहयोग गरेको छ । सूर्योदय सेवा समाज दक्षिण कोरियाले बिरामी परेका जिल्लाका तीन जनाका परिवारलाई चार लाख दुई हजार सहयोग गरेको हो ।
सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिकाका रितिक घिमिरेका लागि नगद तीन लाख दश हजार सहयोग गरेको छ । सो रकम मंगलबार इलाम सदरमुकाममा भएको एक कार्यक्रमबीच बिरामीका परिवारलाई सेवा समाजका संस्थापक अध्यक्ष हरि खनाल, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र युद्धप्रसाद बैद्यले हस्तान्तरण गरे ।

त्यस्तै इलाम नगरपालिका ५ बरबोटेकी हात आगोले पोलेर उपचाररत निरु राईका परिवारलाई समेत सोही अवसरमा नगद ६२ हजार रकम उपलब्ध गराइएको छ । सो रकमसमेत संस्थापक अध्यक्ष खनालसहित इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, इलाम नगरपालिका वडा नम्वर पाँचका वडा अध्यक्ष नुतनदेव दुलालले हस्तान्तरण गरे ।
सोहि अवसरमा सेवा समाजले सन्दकपुर गाउपालिका सुलुबुङकी मुटुरोगी निसानी साउदेनका परिवारलाई नगद ३० हजार हस्तान्तरण गरिएको छ । सोही अवसरमा रितिककै परिवारलाई सञ्चारकर्मी नरेन इलामेलीले संकलन गरेको १३ हजार ८ सय ५० समेत हस्तान्तरण गरिएको थियो ।