कारोबार संवाददाता
मंगलबार, श्रावण ६, २०७७
1068

गोकर्ण अधिकारी-टोकियो, जापान -जापानले नेपाल सहित १६ देशमाथी मंगलबार ट्राभल एडभाईजरी यात्रा चेतावनी जारी गरेको छ । नयाँ कोरोना भाइरस संक्रमण बृद्धिको आधारमा खतरा बढेको भन्दै जापानले नयाँ चेतावनी जारी गरेको बताएको छ । जापानका बिदेश मन्त्री तोसिमिचु मोतेगीका अनुसार नेपाल सहित यात्रा चेतावनी जारी गरिएका १६ देशमाथी तेस्रो स्तरको खतरा जारी गरिएको छ । खतराको यस्तो स्तर अधिकतम चार तहको हुने गर्दछ । यस्तो यात्रा चेतावनी जारी गरिएपछि जापानीहरुलाई नेपाल भ्रमणमा जान जापान सरकारले निरुत्साहित गर्नेछ । कानुनी रुपमा प्रतिबन्ध लगाएको नमानिए पनी जापानले भ्रमणमा जान स्विकिृती नदिने अर्थात् रोक्ने गर्दछ । तर जापानबाट नेपाल फर्कन चाहने वा अन्य देशका नागरिकहरुलाई जानबाट भने रोक्नेछैन । यद्यपी नेपालबाट सामान्य भिषा प्रक्रिया अनुसार जापान आउनेहरुमा भने
पूर्ण रुपमा रोक लाग्नेछ । यस्तो प्रतिबन्ध घोषणा गरिएपनी कहिलेसम्म भन्ने खुलाईएको छैन । कोरोना भाइरस संक्रमणको खतरा नटरेसम्म हाल लगाईएको रोक नखुल्ने अन्य देशमाथी लगाईएको प्रतिबन्धको नजिरले देखाउँछ । आज थपिएका नेपाल सहित १६ देश जोड्दा जापानले यात्रा चेतावनी जारी गरेको देशको सूचि १ सय ४६ पुगेको छ । नेपाल सहित खतराको तेस्रो स्तर जारि गरिएका देशहरुमा केन्या, भेनेजुएला,
बोत्स्वाना, दि कामोरोस्, लिबेरिआ, लिबिया, मादागास्कर, नामिबिया, पारागुए, कंगो, सेयरा लियोन, सोमालिया, सुडान र उज्बेकिस्तान रहेका छन् । यात्रा चेतावनी जारी गरिएसँगै जापानले औपचारिक रुपमा यि देशबाट जापान प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

अनौपचारिक रुपमा भने यसअघि नै नेपाल सहित उल्लेखित १६ वटै देशबाट जापान प्रवेशमा रोक लगाएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।जापानले यसअघिनै अमेरिका, अधिकाशं युरोपेली देश, बेलायत, चीन, रसिया, दक्षिण कोरिया लगायत १ सय २९ देशमाथी प्रतिबन्ध लगाईसकेको छ । जापानले यस बाहेक जुनसुकै देशबाट आउने नागरिक माथी अनिवार्य दुई हप्ताको क्वारेन्टाईन नियम लागू गरेको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड, थाईल्याण्ड र भियतनाममा कोरोना संक्रमण न्यून देखिएपछी ति देशबाट ब्यापारिक प्रयोजनमा आउनेहरुमाथी भने जापानले जुलाई सुरुवात देखी प्रवेश प्रतिबन्ध खुकुलो पारेको छ । जापानले प्रतिबन्ध खुकुलो बनाउँदै लैजाने नीति अनुरुप अन्तर्राष्ट्रिय
बिमानस्थलमा नै आगन्तुकहरुको कोरोना संक्रमण परिक्षण गर्ने तयारी गरेको छ
।  दैनिक १० हजार व्यक्तिसम्मको परिक्षण गर्नेगरि हानेदा, नारिता, कान्साई लगायत देशमा प्रमुख अन्तर्राष्ट्रिय बिमानस्थलमा कोभिड १९ भाइरस
परिक्षणको व्यवस्था गर्ने जापानका स्वास्थ्य मन्त्री काचुनोबु कातोले बताएका छन् ।जापानले नेपालबाट जापान प्रवेशमा रोक लगाएपछि नेपालमा छोटो समयमा बिदामा गएका सहित जापानको भिषा पाएर आउने तयारीमा रहेका हजारौं व्यक्ति
प्रत्यक्ष प्रभावित हुनेछन् ।

जापानमा एक महिना यता कोरोना भाइरस संक्रमण बृद्धिहुँदै जाँदा दैनिक ५ सय बढी संक्रमित थपिन थालेका छन् । २६ हजार कोरोनाका बिरामी नाघ्दा हालसम्म १ हजार १ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
संक्रमित मध्ये २० हजार ५ सयजना संक्रमित निको भएर घर फर्किसकेका छन् ।