कारोबार संवाददाता
आइतवार, श्रावण ४, २०७७
814

टोकियो, जापान -जापानमा दोस्रो लहरको रुपमा नयाँ कोरोना भाइरस संक्रमणमा तिब्र बृद्धि हुन थालेको छ ।हप्ता दिन यता दैनिक ५ सय बढी कोरोना संक्रमित बृद्धि हुँदै जाँदा संक्रमित संख्या २६ हजार नाघिसकेको छ ।संक्रमणको मुख्य केन्द्र राजधानी टोकियो सहित प्रमुख शहरहरु बन्न थालेको छ । आधा दर्जन मुख्य शहरहरुमा अहिलेसम्मकै उच्च कोरोना संक्रमित पुष्टि हुँदा टोकियोमा एकैदिन करिव ३ सयसम्म कोभिड १९ का बिरामी थपिएका छन् ।जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार आईतबार साँझ सम्ममा जापानमा घरेलु कोरोना भाइरस संक्रमित २५ हजार ४ सय पुगेको छ ।योकोहामा क्रुजका ७ सय १२ संक्रमित जोड्दा यो संख्या २६ हजार १ सय १२ रहेको छ ।कोरोना संक्रमण बृद्धिसँगै ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्न थालेको छ ।योकोहामा क्रुजका १३ जना सहित अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।क्षेत्रगत आधारमा सबैभन्दा बढी प्रभावित राजधानी टोकियोमा कोरोना संक्रमित ९५ सय पुग्न लागेको छ । साता यता यहाँ औषतमा दैनिक दुई सय ५० कोरोनाका बिरामी थपिएका छन् ।टोकियोपछि साईतामा, ओसाका, खानागावा, चिबा, होक्काईदो, फुकुओका लगायत मुख्य शहरी क्षेत्रमा कोरोना संक्रमण दैनिक बृद्धि हुँदै गईरहेको छ ।जापानमा हालसम्म संक्रमित मध्ये २० हजार २ सय ३५ जना उपचारपछि निको भईसकेका छन् । अर्थात् हाल करिव ४ हजार संक्रमित मात्रै उपचाररत छन् ।
जापानमा हालसम्म कोरोना भाइरस संक्रमणबाट १० जना नेपाली संक्रमित भएका छन् ।

संक्रमितहरु यसअघिनै निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।
तर नेपाली राजदुतावास जापानले भने ७ जना संक्रमितले मात्र जानकारी गराएको बताउँदै आएको छ ।पछिल्लो एक महिना यता कोरोना संक्रमण बृद्धि हुँदै गएपनि कोहीपनी नेपालीमा संक्रमण पाईएको छैन ।तर संक्रमण बृद्धिहुँदै जाँदा कार्यस्थल बन्द तथा कामबाट छुट्टी लगायत अनेक कारणले रोजगार वा आम्दानी गुमाउने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको पाईन्छ ।सबाट जापानमा रहेका नेपालीहरु आर्थिक रुपमा बढी समस्यामा पर्दै जान थालेका छन् ।

 गोकर्ण अधिकारी