कारोबार संवाददाता
शुक्रवार, असार ५, २०७७
1718

गोकर्ण अधिकारी-ओसाका, जापान -पश्चिम जापानको ओसाका प्रिफेक्चरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस
उपचारको भ्याक्सिन तयार पारेका छन् ।अनुसन्धानकर्ताहरुको टिमसँग मिलेर स्वास्थ्य अधिकारीहरुले भ्याक्सिन तयार पारेको बताएका छन् ।ओसाकामा रहेको विश्वविद्यालयका अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा तयार पारिएको भ्याक्सिन जनावरमा परीक्षण गरिसकिएको छ ।ओसाकाका गभर्नर योशिमुरा हिरोफुमीका अनुसार यहि जुन महिनाको अन्तमा कोरोनाभाइरस विरूद्ध खोपको क्लिनिकल परीक्षण मानिसमा सुरू गर्ने तयारी थालिएको छ । जनावरमा गरिएको परिक्षण उत्साहजनक रहेको बताउँदै गभर्नर हिरोफुमीले क्लिनिकल परीक्षण २० देखी ३० जना स्वास्थ्यकर्मीहरुमा गरिने जानकारी दिएका छन् ।

गर्भनर हिरोफुमीले कोरोना भाइरसँग लड्न औषधि र खोप बिकास गरिनु महत्वपूर्ण रहेको बताउँदै आफ्नो प्रान्तले जापानमै पहिलो पटक भ्याक्सिन तयार पारेर मानिसमा परिक्षण गर्न लागेको बताए । प्रिफेक्चरले स्वास्थ्यकर्मीहरुमा गरिने क्लिनिकल परिक्षणमा खोप प्रभावकारीसँगै सुरक्षित प्रमाणित भएपछि अक्टोबर महिनामा सयौं मानिसमा खोप परिक्षण गर्ने योजना बनाएको छ ।
यसै बर्षको अन्त्यसम्ममा २ लाख भ्याक्सिन तयार पारेर सबै दृष्टिकोषणले प्रभावकारी र सुरक्षित प्रमाणित भएपछि भ्याक्सिन उत्पादन र विक्रिको लागि स्विकृती लिईने गर्भनर हिरोफुमीले स्पष्ट पारे । जापानमा हालसम्म १७ हजार ६ सय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ३० बढीको मृत्यु भईसकेको सरकारी तथ्यांक छ । संक्रमित मध्ये करिव १६ हजार व्यक्ति उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । जापानमा केहीदिन यता दैनिक सरदर ५० जनाको संख्यामा कोभिड १९ भाइरसका बिरामीहरु थपिईरहेका छन् ।