कारोबार संवाददाता
बिहिवार, असार ४, २०७७
1009

टोकियो, जापान -चुनावमा स्थानिय नेता र समर्थकलाई नगद बाँडेको आरोपमा जापानका पूर्व न्याय मन्त्री र उनका श्रीमती पक्राउ परेका छन् ।

गत बर्ष माथिल्लो सदनको चुनावमा तत्कालिन न्याय मन्त्री कवाई काचुयुकी र उनको श्रीमती अन्रीले पैसा बाँडेर भोट किनेको आरोपमा अभियोजन पक्षले बिहिबार अपरान्ह दुवैजनालाई पक्राउ गरेको हो ।

प्रधानमन्त्री आबे शिन्जो मन्त्री मण्डलमा न्याय मन्त्रीको रुपमा सेवा गरेका कवाईले त्यसअघि बैदेशिक कुटनीतिमा सल्लाहकारका रुपमा समेत काम गरेका थिए ।

प्रतिनिधिसभा सदस्य रहेका ५७ बर्षिय पूर्व मन्त्री कवाईले प्रतिनिधि सभा र उनको ४६ बर्षिया श्रीमती अन्री कवाईले हाउस अफ काउन्सिलरको चुनावमा भोट किनेको आशंका छ । अन्री उक्त निर्वाचनमा संसदमा बिजयी भएकी थिईन् ।

बुधवार मात्र सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीले दुवै सदस्यले पार्टीबाट दिएको राजीनामा स्विकार गरेको थियो । यद्यपी उनिहरुले संसद सदस्यमा निरन्तर काम गर्न चाहेको बताएका थिए ।

संसद बैठक बुधवार समाप्त भएको थियो । संसद सदस्यलाई बैठक जारी रहँदा आफुलाई पक्राउ हुनबाट जोगाउने विशेष अधिकार रहेको हुन्छ । सोही अनुसार बैठक समाप्त भएको भोलीपल्टै बिहिबार दुवैजना पक्राउ परेका हुन् ।

पूर्व मन्त्री र उनको पत्नी दुवैले उनिहरुमाथि लागेको आरोपलाई भने अस्विकार गर्दै आएका छन् ।
तर अनुसन्धानकर्ताहरुले कवाईले करिव २ करोड ४० लाख नगद र श्रीमती अन्रीले २५ लाख जापानी येन चुनावी अभियानमा १ सय व्यक्तिलाई नगद बाँडेका थिए ।

नगद लिएको आरोप लागेका ति सबै व्यक्तिहरुलाई अभियोजन अधिकारीहरुले सोधपुछ गर्दा उनिहरुले नगद लिएको स्वीकार गरेको क्योदो समाचार संस्थाले जनाएको छ ।

अभियोजक अधिकारीहरुले पूर्व न्यायमन्त्रीले चुनावमा मतदाता प्रभावित बनाउन आफ्नी श्रीमतीलाई पनि लगाएको बताएका छन् ।

काचुयुकी कावाईले हिरोशिमा प्रान्तको निर्वाचन क्षेत्रमा रहेका हरेक दम्पतीहरूलाई पचार हजार देखी १ लाख जापानी येन नगदको लोभ देखाएका थिए ।

बुधवार पत्रकारहरुसँग कुराकानी गर्दै पूर्व न्याय मन्त्री कवाईले पार्टी सहित सबै पक्षलाई आफ्ना कारण समस्या परेको भन्दै माफी मागेका थिए ।
यद्यपी उनले आफुले निर्वाचन तथा राजनीतिक गतिविधिका क्रममा कुनैपनी कानूनको उल्लंघन नगरेको दाबीलाई दोहोर्याएका छन् ।

मंगलबार मात्रै सरकारद्धारा नियुक्त पूर्व मन्त्रीका सचिवलाई चुनावमा गैरकानुनी रुपमा प्रचारकर्ताहरुलाई पैसा भुक्तान गरेको अभियोगमा १८ महिनाको जेल सजाय सुनाईएको छ ।

यदि अदालतले अभियोजन पक्षले लगाएको आरोपलाई स्विकार गरेको खण्डमा पूर्व मन्त्री कवाईको संसद पद गुम्नेछ ।