कारोबार संवाददाता
आइतवार, बैशाख २१, २०७७
1076

सम्पूर्ण संयन्त्र परिचालन गरेर राहत वितरण गर्नुपर्छ : एनआरएनए अध्यक्ष पन्त

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करिब ४ दर्जनभन्दा बढी सहभागीले आ–आफ्नो विचार राखेका थिए ।
बिहीवार टेलिफोन कन्फेसमार्फत् भएको बैठकलाई एनआरएनए अध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए । ‘अहिले जति काम गरे पनि कम हुन्छ, यो सेवा गर्ने अवसर हो, त्यसको कुनै लिमिट नै छैन,’ अध्यक्ष पन्तले भने, ‘संघले कोभिड–१९ उच्चस्तरीय समितिमार्फत् राहत कार्यक्रम लिएर बिभिन्न देशमा गतिविधिहरु भइरहेका छन् ।’

अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताए । उनले महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संघले दीर्घकालीन रणनीति बनाउने तयारी गरेको जानकारी दिए ।
संक्रमणले ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र २५ सयभन्दा बढी नेपाली कोरोना संक्रमित भएको जानकारी दिँदै अध्यक्ष पन्तले भने, ‘धेरै नेपाली संक्रमित भएपछि नेपाल सरकारको उपस्थिति नभएका देशमा समेत संघ सरकारसँग समन्वयन गरेर अगाडि बढेको छ ।’
‘कोरोना महामारीको प्रकोप कहिलेसम्म रहने हो अहिल्यै भन्न सक्ने अवस्था छैन । विज्ञहरुले समेत भन्न सकेका छैनन् । यसले ल्याएका प्रभावको व्यवस्थापन गर्न ठूला चुनौति छन्,’ अध्यक्ष पन्तले थपे, ‘त्यसको लागि सबै जना मिलेर जान र सबै संयन्त्र परिचालन गर्नसमेत आग्रह गर्दछु ।’
क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ सुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि सुरु गरेको जानकारी दिए । उनले महामारीको अवस्थामा पनि दूतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाइएको बताए ।
नेपाली समुदायको हितका लागि २४ सै घन्टा टेलिफोन तथा इमेल सेवा सुचारु गरिएको जानकारी दिँदै राजदूत ढुंगानाले भने, ‘एनआरएनए क्यानाडा र स्थानीय संघसंस्थाले दूतावासलाई ठूलो मद्दत गरेका छन् ।’
राजदूत ढुंगानाले क्यानाडामा रहेका नेपालीहरुको समस्याका बिषयमा क्यानडा सरकारसँगसमेत छलफल भैरहेको बताए ।
संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले महामारीपछि अमेरिकामा रहेका नेपालीप्रति दूतावास चिन्तित रहेको बताए । उनले अमेरिमा रहेका नेपालको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको बताए ।
महामारीपछि अमेरिकामा रहेका विद्यार्थीलगायत नेपाली समुदायमा मुख्य समस्या रहेको जानकारी दिँदै राजदूत कार्कीले कोरोना संक्रमण सुरु भएदेखि नै गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अगाडि बढेको बताए ।
म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारीले कोरोना भाइरसका कारण निधन भएका नेपालीलाई आफूले सक्दो सहयोग गरेको बताए ।
संघका महासचिव डा. हेमराज शर्माले महामारीबिरुद्ध लड्न एकजनाको प्रयासले मात्र सम्भव हुने भएकाले बिभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदलमार्फत काम थाल्न जोड दिए । उनले विदेशस्थित नेपाली दूतावाससँग समन्वयन गरेर अगाडि बढ्न सबै पक्षलाई आग्रह गरे ।
संघकी उपाध्यक्ष रविना थापाले महामारीको बेला अमेरिकामा रहेका संघसंस्थालाई समेटर लैजना एनसीसीलाई सुझाव दिइन् । उनले कोरोना पीडितका लागि संकलित रकम वितरणको लागि गाइडलाइन आवश्यक हुने बताइन् । रकम संकलन गर्नभन्दा वितरण गर्न चुनौति भएको अनुभव उनले सुनाइन्
संघका सचिव गौरीराज जोशीले कोभिड–१९ पीडितका लागि संकलित रकम आपसी समन्वयनबाट खर्च गर्न सुझाव दिए । उनले एक अर्काबीच सहकार्य गरेर महामारीबिरुद्ध लड्न जोड दिएका थिए ।
आइसीसी सल्लाहकार हरिबोल भण्डारीले बैठकमा आएका सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अनरी काउन्सिलर तथा गायक प्रेमराजा महतले कोरोना महामारीमा अमेरिकामा रहेका नेपालीको एउटै मन भएको बताउँदै सबै पक्षसँग मिलेर राहत वितरणमा लाग्न जोड दिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अध्यक्ष सुनिल शाहले एनआरएनए अमेरिकाले कोभिड–१९ सुरु भएको दिनदेखि नै सक्रिय रुपमा काम गरेको बताए ।
एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले कोभिड–१९ बिरुद्ध लड्न नेपाली दूतावास क्यानडा र संघबीच एक्यबद्ध भएर अघि बढेको बताए ।
एनआरएनए हेल्थ समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७ सय ५० र क्यानडामा १ सय ६० जना गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिएको जानकारी दिए ।
नेपाली जनसम्पर्क समितिका नेता डा. यादव पण्डितले अमेरिकामा रहेका विद्यार्थीमा सुरुमा देखिएजस्तो अहिले समस्या नभएको जानकारी दिए । उनले नेपाली दूतावास अमेरिकाले संमन्वय नगरेको र कोरोना पीडित विद्यार्थीसँग दूतावासले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।


सातामा धेरै पढिएको