कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६
759

बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन् ।
एनआरएनए अध्यक्ष कुमार पन्तसँग शुक्रवार बिहान फानवरोमा भएको अन्तक्र्रियामा बोल्ने भूपू गोर्खाका अगुवा नेताहरुले नागरिकताको निरन्तरता, सम्पतिको अधिकारलगायतका विषय भूपू गोर्खाको समेत चासोका मुद्दा भएको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

भूपु गोर्खाहरुको छाता संस्था गेसोका उपाध्यक्ष धर्म तामाङले भूपू गोर्खाहरुले सन् १८१५ देखि लगातार बेलायतको सेवा गरेको स्मरण गर्दै समान पेन्सन पाउनु पर्नेमा जोड दिए । उनले संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरिनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए ।
तामाङले देशको समृद्धिका लागि विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालको हितमा प्रयोग गर्न सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा लेप्टिनेट कर्णेल एम रानाले भूपू गोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको मुद्दामा सरकारले बेग्लै नजरले हेरिदियोस् भन्ने चाहना राखेको बताए । उनले गैरआवासीय नेपाली र भूपूगोर्खाको समस्या समान रहेका बताए ।
कार्यक्रममा भूपू गोर्खा तथा गैरआवासीय नेपाली संघ युकेका निर्वमान अध्यक्ष योगकुमार फगामीले भूपु गोर्खाहरुले एनआरएनएलाई अपनत्वको भावना सिर्जना हुने गरी काम गर्नुपर्ने बताए । गैरआवासीय नेपाली संघ अन्तर्गतको भूपू गोर्खा सम्वन्धी समितिका संयोजक चन्द्र गुरुङको संयोजकत्वमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङको समेत उपस्थिति थियो ।