कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६
271

गैरआवासीय नेपाली संघ (एनआरएनए) र काठमाडौँ महानगरपालिकाबीच काठमाडौँका विभिन्न क्षेत्रमा शौचालय निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नं ३, ७, १४ र ३२ गरी जम्मा ४ ठाउँमा अत्याधुनिक शौचालय निर्माण गरि ५ वर्ष सम्म व्यवस्थापन गर्ने जस्ता १५ प्रावधान राखी एक सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्र अनुसार संघले महानगरपालिकाले तोकेको मापदण्डको अधिनमा रही शौचालय निर्माण र संचालन गर्ने छ । उक्त सहमति पत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र भौतिक संरचना विकास तथा कार्यान्वयन समितिका संयोजक ई. अमन मास्के तथा काठमाडौँ महानगरपालिकाको तर्फबाट सहसचिव राजेश्वर ज्ञवाली र वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृतले गैरआवासीय नेपाली संघले विभिन्न परोपकारी कार्य गर्दै आएको र हाल काठमाडौँ महानगरपालिकामा सुविधा सम्पन्न शौचालयको अभाव रहेकोले सो अभाव केहि मात्रामा भएपनि पूरा गर्नका लागि काठमाडौँ नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्ने बताए । महानगरले गैरआवासीय नेपाली संघका पहलले राम्रो सन्देश दिने कुरा जनाउँदै गैरआवासीय नेपाली संघलाई हार्दिक धन्यवाद दिएको छ ।