कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६
575

पोखरा बैठक निर्णय
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा निर्माणाधिन एनआरएन नमुना बस्तीको निर्माण कार्य सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको जनाएको हो ।
गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोर्टमा सम्पन्न संघको ७१ औं बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले नेपालमा लगानी, काठमाण्डौंमा बन्दै गरेको सार्वजनिक शौचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष २०२० लगायतका विषयमा जानकारी दिए ।
पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिए । उनले भने, “अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ । हिउँ पग्लेपछि बाँकी रहेको काम गरेर हस्तान्तरण गर्छौं ।”
गण्डकी प्रदेशको पोखरामा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृढिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघ महासचिव डा. हेमराज शर्मा जनाएका छन् । संघले सम्मेलन मार्फत् १४ बुँदे निर्णयहरु सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मुलुकबाट आएका संघका आईसीसी पदाधिकारी, आईसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जना सहभागी भएको संघले जनाएको छ । संघले काठमाडौ महानगरपालिकाबीच नमुना सार्वजनिक शौचालय निर्माण गर्ने सम्झौता भएअनुसार उक्त कार्य अघि बढाउन बैठकमा सहभागी सदस्यहरुबाट ४० लाख रुपैयाँ सहयोग संकलन समेत गरेको छ ।
पोखरा सम्पन्न एनआरएनए आईसीसीको प्रत्यक्ष बैठकमा विश्वका विभिन्न मुलुकबाट आएका आईसीसी पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जनाको सहभागीता रहेको थियो । बैठक पश्चात गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा प्रदेश सरकार र गैरआवासीय नेपाली संघबीच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ लगायतका प्रदेश सरकारका महत्वपूर्ण निकायका प्रतिनिधीहरु र संघका पदाधिकारीको उपस्थिती थियो ।

भ्रमण वर्ष २०२० का लागि विशेष कार्यक्रम
बैठकबाट भएका महत्वपूर्ण निर्णयहरु मध्ये नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन संघले सक्रियातापूर्वक विभिन्न कार्यक्रमको सुरुवात गर्ने भएको छ । यसलाई अझै घनीभूत बनाउन संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गरिने भएको छ ।
सो बैठकमा बृहत छलफल पश्चात २०१९–२०२१ कार्यकालका लागि विस्तृत कार्ययोजना तयार पारिएको छ । संघका सबै विभागहरुको कार्ययोजनाको विवरणको पुस्तिका १ महिनाभित्र प्रकाशन गरिने जनाइएको छ । यसैगरी एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनका लागि संघको अन्तर्राष्ट्रिय महाधिवेशन नभएको वर्ष, विज्ञ सम्मेलनको साथमा आयोजना गरिने निर्णय भएको छ ।

दोस्रो विज्ञ सम्मेलनको तयारी
नेपाल सरकारको साझेदारीमा अक्टोबर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन गरिने जनाइएको छ । सम्मेलनलाई परिणाममुखी बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र संघबीच एक संयुक्त समिति निर्माण गरिने छ ।
बैठकमा परोपकारी एवं मानव कल्याणकारी कार्यका लागि स्थायी प्रकृतिको श्रोत परिचालन गर्नका लागि स्थापना गर्न लागिएको एनआरएनए फाउण्डेसनको अवधारणापत्रमा बृहत छलफल गरिएको छ । उक्त फाउण्डेसन स्थापना गर्न केही वैधानिक तथा कानुनी कठिनाई समेत पहिचान गरिएकोले यसको समाधानका लागि नेपाल सरकारको सम्बन्धित निकायसँग परामर्श तथा संवाद गरिने भएको छ ।
साथै अक्टोवर २०२० भित्र फाउन्डेसनको दर्ता प्रक्रिया समेत अगाडि बढाइने उल्लेख छ । संघको सदस्यता वितरण र व्यवस्थापन, अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन लगायतका गतिविधीहरुलाई अत्याधुनिक डिजिटल प्रविधिमैत्री बनाउनका लागि प्रस्ताव गरिएको ‘स्मार्ट एनआरएनए परियोजना’ ६ महिनाभित्र सम्पन्न गरिने निर्णय भएको छ ।

स्मार्ट एनआरएनए र एनआरएनए फाउन्डेसन
स्मार्ट एनआरएनए परियोजना र एनआरएनए फाउन्डेसनको स्थापनाका लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति समेत तय गरिने भएको छ । बैठकमा संघको आर्थिक अवस्था, संघको वित्तिय प्रतिवेदन र तेश्रो पक्षबाट गराइएको डीडीए र आन्तरिक लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमाथि बृहत छलफल गरिएको छ ।
बैठकले आवश्यक सबै प्रक्रिया पूरा गरी उक्त प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गरिने छ । संघको वित्तिय विवरणहरु हरेक ३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता अनुसार पछिल्लो ३ महिनाको विवरण १ साताभित्र संघको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ । राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि ३-३ महिनामा आर्थिक वित्तिय विवरणहरु सार्वजनिक गर्न यसै बैठकमार्फत निर्देशन दिइएको छ ।

सार्वजनिक शौचालयका लागि ४० लाख उठ्यो
पोखरा बैठकले काठमाडौं महानगरपालिकासँग समन्वय गरी नमुना सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने औपचारिक निर्णय गरेको छ । उक्त योजनाका लागि बैठकमा सहभागीहरुबाट ४० लाख रुपैयाँ सहयोग संकलन भएको छ । बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ । यसैगरी वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने निर्णण समेत गरेको छ ।

वैदेशिक रोजगारीमा विशेष कार्यक्रम
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्नका लागि उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरिएको छ । गैरआवासीय नेपाली संघद्वारा प्रस्तावित र नेपाल सरकारले पनि घोषणा गरिसकेको तर कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गर्न, तथा महिला कामदारहरुको समस्या समाधान लगायतका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको छ ।

गैरआवासीय नागरिक र अन्य अधिकार
संसदमा विचाराधीन नागरिकता ऐन संसदको यसै हिँउदे अधिवेशनबाट पारित गरी संविधानमा व्यवस्था गरिए अनुरुप गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न बैठक सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको गैरआवासीय नेपाली सम्बन्धी ऐनको पुनर्लेखन गर्न र त्यसमा संघले पेश गरेका सुझावहरु समेत समेट्न यसै बैठकमार्फत् नेपाल सरकार समक्ष अनुरोध गरिएको छ ।
यसैगरी संघको संरचना प्रयोग भई प्रवद्र्धन भई आएका व्यावसायिक कम्पनीहरुको नाफाको निश्चित प्रतिशत संघको कोषमा जम्मा गर्नका लागि सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरिएको छ । अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको शान्तिका लागि संघले कामना गरेको छ । साथै उद्धार कार्यमा सक्रिय सहभागिता जनाउने राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियालाई विशेष धन्यवाद व्यक्त गरिएको छ ।