कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६
1166

टोकियो - रोजगारी तथा अध्ययनको सिलसिलामा जापान आई बसोबास गर्ने नेपालीहरुको संख्यामा वृद्धि भई ८८ हजार ९ सय ५१ पुगेको छ । रोजगारी, व्यवसाय र अध्ययनका लागि उपयुक्त देखिएपछि नेपालीको प्रमुख रोजाइको गन्तव्य देश जापान हुँदै गएको हो ।
जापानको न्याय मन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार नेपालीहरुको बसोबास जापानको ४७ वटै प्रिफेक्चरमा रहेको पाइएको छ । जापानको ४७ वटै प्रिफेक्चरमा नेपालीहरु बसोबास गरेको पाइन्छ । सबैभन्दा बढी राजधानी टोकियोमा र कम तोत्तोरी प्रिफेक्चरमा बसोबास गरेको जापानको सरकारी तथ्यांकले देखाएको छ । टोकियोमा २७ हजार ५ सय ९८ जना नेपालीहरु बसोबास गर्दै आएका छन् । यो संख्या जापानमा रहेका नेपालीहरुको करिब एक तिहाइ हो ।
सबैभन्दा थोरै नेपालीहरु बस्ने प्रिफेक्चरमा भने तोत्तोरी रहेको छ । जहाँ ३७ जना नेपालीहरु बसोबास गरिरहेका छन् । जापानको न्याय मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार टोकियोपछि धेरै नेपाली बसोबास गर्ने प्रिफेक्चर आईची हो । जहाँ ९ हजार ९३ नेपाली बसोबास गर्दै आएका छन् ।
ओसाकामा तीन हजार भन्दा बढी नेपालीहरु बसोबास गरिरहेकोमा गुन्मा, तोचिगी, ओकिनावा लगायत प्रिफेक्चरमा करिब २५ सयको संख्यामा नेपालीहरु बसोबास गरेको पाइएको छ ।
जापानमा अध्ययन र रोजगारीका लागि बसोबास गर्दै आएका नेपालीहरुको संख्या धेरै रहेको यसअघिका तथ्यांकहरुले देखाएका छन् । त्यस बाहेक पेशा व्यवसाय सहित परिवारको साथमा बस्दै आएका नेपालीहरुको संख्या समेत पछिल्लो समय बढ्दो क्रममा रहेको पाइन्छ ।

 

गोकर्ण अधिकारी