कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६
413

गैरआवासीय नेपाली संघ (एनआरएनए ) र मिस नेपाल २०१९ अनुष्का श्रेष्ठबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनआरएनए सचिवालयमा एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा मिस नेपाल अनुष्काले संसारभर रहेका महिला तथा युवाहरुको कार्यक्रम प्रवर्धन गर्ने र एनआरएनले आफ्नो सञ्जाल मार्फत अनुष्कालाई सहयोग गर्ने उल्लेख छ । एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अनुष्कालाई सद्भावनादूतको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा एनआरएनए उपाध्यक्ष श्रेष्ठ, प्रवक्ता डिवी क्षेत्री, एनआरएनए कार्यालय प्रमुख हेमन्त दवाडी, मध्यपूर्वका उपसंयोजक मनोज गोर्खाली, भूतपूर्व डिआरसी धर्मराज गिरी र मिग्मार तामाङ लगायतको सहभागिता रहेको थियो ।

मिस नेपाल २०१९ अनुष्का मिस वल्र्डमा भाग लिन बुधबार (आज) लण्डन जाने कार्यक्रम छ । बेलायत जानुपूर्व सो समझदारी भएसँगै विश्वभरिका गैरआवासीय नेपाली संघका शाखालाई मिस वल्र्डमा अनुष्कालाई जिताउन सक्दो सहयोगको लागि सर्कुलर गरिने भएको छ । लण्डनमा आगामी डिसेम्बर १४ तारिख मिस वल्र्ड प्रतियोगिता हुँदैछ ।
अनुष्कालाई मल्टिमिडिया अवार्ड जित्न ‘लाइक’आवश्यक पर्छ । जसको लागि मोबस्टार एप्स डाउनलोड गर्नु पर्नेछ । एप्स डाउनलोड गरिसके पछि अनुष्का श्रेष्ठ सर्च गरी लाईक गर्न सकिनेछ, जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । हरेक फोटोको एक लाईक एक भोट हुनेछ ।