कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६
399

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले परराष्ट्र सचिव शंकरदास वैरागीलाई भेटेर ५ वटा समसामयिक विषयमा छलफल गरेको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर गैरआवासीय नेपाली नागरिकता, कालापानी सिमा अतिक्रमण लगायतका पाँच समसामयिक विषयमा छलफल गरेको बताइएको छ ।
एनआरएनएले नेपाली नागरिकताको विषय यथाशक्य चाँडो समाधान गरिदिन अनुरोध गरेको अध्यक्ष कुमार पन्तले बताए । छलफलमा अध्यक्ष पन्तले एकपटकको नेपाली सधैंको नेपाली हुने किसिमले राजनीतिक अधिकारसहितको नागरिकता नै गैरआवासीय नेपालीको चाहना भएकाले त्यही अनुसार सम्बोधन गरिदिन आग्रह गरेका थिए ।

एकपटकको नेपाली सधैंको नेपाली हुने किसिमले राजनीतिक अधिकारसहितको नागरिकता नै गैरआवासीय नेपालीको चाहना भएकाले त्यही अनुसार सम्बोधन गरिदिदा उचित हुने उनको भनाइ थियो ।
छलफलका क्रममा कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणका विरूद्ध संसारभरका एनआरएन नेपाल सरकारको साथमा रहेको बताउँदै यसलाई जुनसुकै माध्यमबाट पनि नेपालको हितमा समाधान गर्न आग्रह गरियो । अध्यक्ष पन्तले एनआरएनको अगुवाइमा विभिन्न देशमा रहेका भारतीय नियोग सामु विरोध प्रदर्शन सहित ज्ञापनपत्र दिइएको जानकारी गराएका थिए । प्रतिनिधि मण्डलले रेमिट्यान्समा लाग्ने कमिसनबाट दुई पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान दिने व्यवस्थाका लागि आवश्यक मार्गप्रशस्त गरिदिन माग पनि गरेको छ । यसैगरी सामूहिक लगानी कोष सञ्चालनका लागि आवश्यक नीति नियम बनाइदिन पनि अनुरोध गरियो । छलफलका क्रममा आगामी विज्ञ सम्मेलनको तयारी र सहभागिताका बारेमा पनि कुराकानी भएको बताइएको छ ।