कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४
4394

सरकारले खाडी मुलुकमा घरेलुु कामदार जान रोक लगाएसँगै खाडी देशमा काम गर्दै आएका घरेलुु कामदार समस्यामा परेका छन् । घरेलु कामदारका रूपमा खाडी राष्ट्र जाने महिला कामदार शोषणमा गरेको जनाउँदै सरकारले १ वर्षअघि महिला कामदारका लागि श्रम स्विकृती रोक्का गरेको थियो । गत चैतमा संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी राष्ट्र भम्रण गरी नेपाली महिला चरम शोषणमा परेको जनाउँदै सरकारलाई तत्काल रोक्न सुझाव दिएको थियो ।
वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउने भन्दै सरकारले बेला–बेला घरेलु कामदारका रूपमा जाने महिलाका लागि नयाँ नियम बनाउने गरेको देखन्छ । बिना अध्यन र पूर्ण जानकारीको अभावमा गरिने निर्णयले समस्या समाधानभन्दा पनि अझ बल्झाउने देखिन्छ । अहिले आएर त्यस्तै बनेको छ घरेलु कामदारको रोक पनि ।
यसअघि सरकारले घरेलुु कामदारका विषयमा धेरै कदमहरू चालेको थियो । यो निर्णय हुनुभन्दा पहिला म्यानपावर व्यवसायीयले सम्बन्धित देशको नेपाली राजदूतावासबाट आवश्यक प्रक्रिया पुराएर घरेलु कामदार पठाउन सक्ने व्यवस्था थियो । उक्त व्यवस्थाले सबै म्यानपावर व्यावसायीलाई कानुनको दायरामा आउन बाध्य बनाएको थियो । तर पछिल्लो समय घरेलुु कामदारमा समस्या देखिएको भन्दै सरकारले घरेलुु कामदारमा जान बन्द गरेपिी यसको चौतर्फी बहस चलेको छ ।
विभिन्न खाडी राष्ट्रमध्ये विशेषगरी यूएईमा रहेका संघसस्थाले ज्ञापनपत्र बुझाए पनि यो विषयले भने निचोड लिन सकेको छैन । घरेलुु कामदारको श्रम रोकिनु हुँदैन भन्दै यहाँस्थित संघसंस्थाले नेपालबाट हुने उच्चस्तरीय भ्रमण राख्दै आएका छन् । त्यति मात्रै नभई बेलाबेला नेपाली राजदूतावास अबुधाबिमा पनि यो सम्बन्धि आफ्ना धारणा बुझाउँदै घरेलुु कामदारको श्रम खुल्न सुझाव दिँदै आएका छन् ।
श्रम रोकिएलगत्तै यहाँस्थित गैरआवासीय नेपाली संघ, नेपाली राजनीतिक दलका भ्रातृ संगठन, समाजिक संघसंस्थाले सरकारले गलत निर्णय गरेकाले यसलाई पुनर्विचार गरिनुपर्छ भन्दै नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाए तत्कालीन कार्यवाहक राजदूत नेत्र टन्डनले ज्ञापनपत्र बुझ्दै सरकारले केही समयका लागि बन्द गरेको हुनसक्ने र आफूले १२ बँुदा सुझावसहित सरकारलाई पठाएको हुँदा केही नयाँ प्रक्रियासहित छिटै खुल्ने आश्वासन दिएका थिए ।
वैदेशिक रोजगारमा जानु नेपाली महिलाको बाध्यता हो । वैदेशिक रोजगारमा सरकारले श्रमस्विकृती रोकेर पीडितलाई अझ पीडा थपेको यूएईस्थित संघसंस्थाका प्रतिनिधि बताउँछन् । वर्षौदेखि घरेलुु कामदारका रूपमा काम गर्दै आएका कामदारहरू सरकारको अर्को निर्णयको प्रतीक्षामा बसेका छन् ।
घरमा अप्रिल घटना हुँदा पनि नेपाल जान नपाएको घरेलुु कामदारको गुनासो छ । “हाम्रो काम राम्रो छ, हामी काममा सन्तुष्ट छौं तर हामी नेपाल गयौं भने फेरिी आउन पाउँदैनौं,” लामो समयदेखि यूएईमा काम गर्दै आएकी बुटवलकी रुवी रानाले बताइन् । “बुबा सिकिस्त बिरामी भएको भए पनि नेपाल जान सकिन,” उनले कारोबारसँग भनिन्, “भारतको बाटो भएर नेपाल फर्कन २ लाख रुपैयाँभन्दा बढी दलाललाई पैसा दिनुपर्छ ।”
यसैगरी चितवनकी बिन्दु गिरी ६ वर्षदेखि यूएईमा निरन्तर घरेलु कामदारका रूपमा काम गर्दै आए पनि घर बिदामा नेपाल जान नपाएको गुनासो गर्छिन् । पाल्पाकी लक्ष्मी बस्नेतको पनि समस्या उस्तै छ । उनीहरू भन्छन्, “गयो भने अबैधानिक बाटो हुँदै दलाललाई पैसा खुवाउँदै आउनुपर्छ । त्यसरी आउँदा भोलि केही परिहाल्यो भने समस्या हुन्छ ।”
नेपाल एकता समाज यूएईका सल्लाहकार कृष्ण केसी यूएईमा कार्यरत महिलाहरूको श्रमस्विकृती र सुरक्षाका बारेमा सबैभन्दा पहिला यूएई एकता समाजले आवाज उठाएको दाबी गर्छन् । मोटो रकम लिएर भारत तथा बंगलादेशको बाटो हँुदै यूएई आउने काम नरोकिएको उनको भनाइ छ । सरकारले महिला कामदारका लागि श्रम स्वीकृति खुला नगर्दा घरमा जानैपर्ने काम र दुर्घटना हँुदासम्म स्वदेश फर्कने अवस्था नरहेको उनी बताउँछन् ।
यसैगरी नेपाली जनसम्पर्क समिति यूएईका अध्यक्ष खेमराज बस्नेतले घरेलु महिला कामदारको श्रमस्विकृती बन्द गर्दा परिस्थिति एकदमै गहन बन्दै गएको बताए । नेपाल सरकारले २३ चैत २०७३ मा यूएईलगायत खाडी मुलुकहरूमा घरेलुु कामदार जान रोक लगाएपछि यी देशमा काम गर्ने घरेलुु कामदार नेपाल आवातजावत गर्नबाट वञ्चित भएका छन् । यूएईमा करिब २५ हजारको हाराहारीमा रहेका घरेलुु कामदार रहेको अनुमान छ ।

सरकार के भन्छ ?
श्रम तथा रोजगार मन्त्रालयले मानव तस्करी र श्रम शोषणमा परेको जनाउँदै विगत लामो समयदेखि खाडी राष्ट्रमा नेपाली महिलाका लागि रोक्का गरेको घरेलु कामदारको श्रम स्विकृती खुला गर्ने तयारी भएको जनाएको छ । रोजगारदाताको अनुरोध र विदेशमा रहेका नेपाली महिला कामदारको बिदा प्रक्रियामा समस्या बढ्दै गएपछि हाल सरकारले महिलाका लागि घरेलु कामदारको श्रम स्विकृती खुला गर्ने प्रक्रिया अघि बढाएको छ । गत कात्तिकमा जोर्डनमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई खुला गरिएसँगै एक महिनाभित्र यूएई जाने घरेलु महिला कामदारलाई पनि श्रमस्विकृती दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।
खाडी राष्ट्रका रोजगादाताले नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउन बारम्बार अनुरोध गरेपछि सरकारले महिला कामदारका लागि नयाँ सम्झौता गरेर श्रमस्विकृती दिने तयारी अघि बढाएको श्रम तथा रोजगार मन्त्रालय योजना प्रशासन, योजना, नीति तथा अनुगमन महाशाखाका सहसचिव तेजराज पाण्डेले बताए । “खाडीका कतिपय रोजगारदाता मुलुकले घरेलु महिला कामदार पठाउन अनुरोध गरेका कारण नेपाली महिलाको सुरक्षा अवस्थाका बारेमा थप छलफल गरेर बन्द रहेका मुलुक खुला गर्दै लैजाने योजना अघि बढाइएकोे छ,” उनले कारोबारसँग भने, “महिला कामदारको अधिकतम सुरक्षाको प्रत्याभूति गरी घरेलु कामदारका लागि श्रम स्विकृती खुला गरिने छ ।”
यसरी नै नेपाली राजदूतावास अबुधाबीकी द्वितिय सचिव विष्णुकुमारी अधिकारीले समेत घरेलु कामदारहरूलाई पुनः रोजगारीमा फर्कन श्रमस्वीकृति खोल्न तयारी भएको बताएकी छन् ।

  • सन् १९९७ देखि २००३ सम्म खाडीमा महिलालाई पूर्ण प्रतिबन्ध
  • २००३ देखि २०१० सम्म आंशिक प्रतिबन्ध
  • २००९ मा घरेलु कामदारका लागि पूर्ण प्रतिबन्ध
  • २०१२ देखि २०१४ सम्म खाडी मुलुकमा ३० वर्ष कम उमेरलाई निषेध
  • २०१४ देखि अहिलेसम्म घरेलु कामदार प्रतिबन्ध


हामीले पटक–पटक कुरा उठाउँदै आएका छौं
रमेश श्रेष्ठ
अध्यक्ष, एनआरएनए यूएई
यो विषयमा सरोकारवाला निकायमा हामीले पटकपटक कुरा उठाउँदै आएका छौं । नयाँलाई रोक्नु केही हदसम्म ठिक भए पनि करिब २ वर्षदेखि एउटै घरमा काम गरेका कामदारलाई यसो गरिनु हँुदैन । यदि कामदार आफैं घरेलु कामदारका रूपमा काम गर्न इच्छुुक भएमा अनुमति दिनुपर्छ । यसबारेमा एनआरएनए युएईले पटकपटक नेपाली राजदूतावासमार्फत पहल गर्दै आएको छ । आशा छ, हाम्रा मागहरूलाई सम्बोधन हुँदै आगामी दिनमा घर जान बन्चित घरेलु कामदार आवतजावत गर्न पाउनेछन् ।


महिलालाई श्रमस्वीकृति खोल्नुपर्छ
चन्द्रकला घिमिरे
घरेलु कामदार, यूएई
आठ वर्षदेखि म घरेलु कामदारको रुपमा काम गरिरकेही छु । यही काममा म खुसी छु । तर नेपाल सरकारले श्रमस्विकृती बन्द गर्दा घर जान–आउन असजिलो भएको छ । कुनै समस्या परेर नेपाल जानुपर्ने अवस्था आए राम्रो रोजगारी र कमाइ छोड्नुपर्ने अवस्था आएको छ । नेपाल सरकारले महिलाका लागि श्रमस्विकृती खुला गरे नेपाल गएर पुनः रोजगारीमा आउने अवसर मिल्ने थियो ।

-भुपराज बस्याल/गोपाल संग्रौला