कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
396

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा पदाधिकारीहरुसँग भेट गरी संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती सम्बन्धमा छलफल गरेको छ ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संघका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । उनले संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्ती निर्माणमा आर्थिक तथा भौतिक सहयोग पु-याउने सम्पूर्ण सहयोगदाताहरु प्रति प्राधिकरणको तर्फबाट धन्यवाद व्यक्त गर्दै निर्माण कार्य लाभग्राहिहरुलाई हस्तान्तरण गर्न संघका निवर्तमान कार्यसमितिसँग भएको सम्झौता बारे अवगत गराएका थिए ।

ज्ञवालीले संघले निर्माण गर्न जिम्मा लिएको आवासहरुको निर्माण अन्तिम चरणमा पुगेको भए पनि केहि कार्य बाँकी रहेकाले प्राधिकारण, गाउँपालिका र संघको संयुक्त प्रतिनिधित्व हुने गरी एक प्राविधिक टोली गठन गरी सो टोली मार्फत आवास तथा शौचालय निर्माणको बाँकी लागत अनुमान गरी सो वापतको रकम गाउँपालिकाको खातामा संघले जम्मा गरी गाउँपालिका मार्फत सो काम गराउने र बाँकी पूर्वाधारहरुको लागत समेत तयार गरी सो कार्यको लागि संघ, गाउँपालिका र प्राधिकरणले कति रकम विनियोजन गर्न सक्छ भनि निक्र्यौल गरी सोहिबमोजिम गर्ने सकिने जानकारी गराए ।
संघका अध्यक्ष पन्तले बस्ती निर्माणमा प्राधिकरणको धैर्यता र सहयोगको लागि धन्यवाद व्यक्त गर्दै विश्वभरिबाट दाताहरुको सहयोगबाट निर्माण गरिएको बस्ती अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गरे । बस्तीका लाभग्राहिहरुलाई आगामी दिनमा संघले केकस्तो सहयोगहरु गर्न सक्छ भनि संघले संधैं चिन्तन गर्ने र सक्दो सहयोग गर्ने जानकारी दिए । भेटघाट कार्यक्रममा संघका उपध्यक्ष डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।