कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
353

यूएई - मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाका पूर्व पत्रकार मरहट्टाले आफ्ना भावी योजनासहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।
संघमा महिलाहरुको सशक्त उपस्थितिलाई बढावा दिँदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वाबलम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत् विविध योजनाहरु समेटेर आफू अघि बढ्न लागेको उनले बताइन् ।
मरहट्टाले भनिन्, “सञ्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनएसँगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भूमिकालाई कुशलताका साथ निर्वाह गर्न सक्नेमा म अत्यन्तै विश्वस्त छु ।” उनले महिला संयोजकको जिम्मेवारी आफूले पाएमा महिलाहरुसँग रहेको सीप र क्षमतालाई अझै बढी उजागर गर्ने र उनीहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने कुरामा सहयोग गर्ने लक्ष्य राखेकी छन् ।