कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६
1090

नेपाल पत्रकार महासंघ यूरोप शाखाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले आफ्नो गल्ति सच्चाएर माफी नमागे कडा कदम चाल्ने चेतावनी दिएको छ ।
महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । एनआरएनए स्पेनले यूरोपबाट नेपाल समाचारपत्रका लागि रिपोर्टिङ गर्दै आएका पत्रकार दीपेन्द्र गजुरेललाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

केही महिना अगाडि स्पेनमा भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यू भएको समाचार नेपाल समाचारपत्रमा दीपेन्द्र गजुरेलको नाममा प्रकाशित भएको थियो । उक्त घटनाको बारेमा स्पेनका सञ्चार माध्यमले पनि समाचार प्रकाशित गरिसकेका छन् । समाचार साँचो भएको र स्पेनी सञ्चार माध्यमले समेत संप्रेषित गरिसकिएको अवस्थामा उनको नाममा समाचार प्रकाशित भएपछि पनि उनलाई कारबाही गर्ने एनआरएन स्पेनको निर्णय निरंकुश हो । एनआरएन स्पेनले कानुनी प्रक्रियाबाट गजुरेललाई कारबाही गर्ने निर्णय समेत गरिसकेको छ ।
समाचारमार्फत सत्य तथ्य संप्रेषण गर्दा उल्टै कारबाही गर्ने चेतावनी दिनु एनआरएनए स्पेनको दुर्भाग्यपूर्ण कदम भएको पत्रकार महासंघ यूरोप शाखाको ठहर छ ।
सामाजिक संस्थामा व्यक्तिवादी सोच हावी भएको देखिएको भन्दै एनआरएनए स्पेनले तत्काल निर्णय सच्चाएर माफि माग्न पनि महासंघले माग गरेको छ ।