कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६
528

गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक साउन १८ गते शनिबार सुरु हुने भएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
एनआरएनए युरोप संयोजक शिव बरुवालले अगष्ट ३ र ४ तारिख अर्थात् साउन १८ र १९ गते इटालीको रोममा बैठक बस्ने जनाएका छन् । बैठकले नेपाल भ्रमण वर्षलाई लक्षित गरी नयाँ कार्यक्रम सार्वजनिक गर्नेछ । बैठकले नेपालमा लगानी भित्र्याउने मुख्य एजेन्डा बनाएको छ । यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकता, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको स्थापना लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

बैठकमा सो क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ । बैठकमा नेपालबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूतावसका राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी रहने जनाइएको छ ।
यसका साथै यूरोपका २८ राष्ट्रिय समन्वय समितिका पदाधिकारी, एनआरएनए अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करिब ५ सय जना प्रतिनिधि सहभागी हुनेछन् ।