कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
271

एनआरएनए एसिया प्रशान्त क्षेत्रीय र महिला बैठक

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला बैठक१२ बुँदे निर्णय गर्दै समापन भएको छ । बैठकमा २३ देशका करिब २५० जना गैरआवासीय नेपालीहरूको सहभागिता थियो ।
बैठकले नेपाली मूलका विदेशी नागरिकहरूलाई समेत नेपालको विकासका साझेदार बनाउन पहल गर्ने निर्णय गरेको छ । साथै नेपालको कला, संस्कृति, भाषा, रहनसहन सहितको आफ्नो पहिचान कायम राख्न म्यान्मारका नेपालीगोरखा समुदायको सफलताको बैठकले उच्च सम्मान गरेको छ । यसबाट अरु देशमा रहेका नेपालीहरूले समेत धेरै सिक्न सक्ने सम्भावना रहेको सो बैठकको ठहर छ ।

मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन् गर्दै डायस्पोरालाई १÷२ पुस्तामा मात्र सीमित नगरी गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट विदेशमा आई बसोबास गरेका व्यक्तिका सन्ततिलाई समेट्न सक्ने गरी कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई बैठकले अनुरोध गरेको छ । नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जित गरेको साधन श्रोत प्रयोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास गर्ने प्रण पनि बैठकका सहभागीले गरेका छन् ।
नेपालमा स्थापना भएको १० अर्ब रुपैयाँको कोष भएको सामूहिक लगानी कम्पनी सफल पार्न पनि बैठकले प्रतिबद्धता प्रकट गरेको छ । बैठकले नेपालको जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानी प्रवर्धन गर्ने निर्णय समेत गरेको छ । साथै नेपाललाई मेडिकल टुरिजमको केन्द्रका रुपमा विकास गर्नका लागि आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकारसमक्ष बैठकले अनुरोध गरेको छ । गौतम बुद्धको जन्मस्थान लुम्बिनीप्रति म्यानमारी जनताको अगाध आस्थाको मनन् गर्दै म्यानमार–लुम्बिनी सिधा हवाई सम्पर्कको व्यवस्था गर्न बैठकले दुवै सरकार एवं हवाई कम्पनीहरूलाई आह्वान गरेको छ ।
यसैगरी बैठकले आधा आकाश ओगटेका महिलाहरूको सशक्तिकरण बिना मुलुकको समृद्धि र गैरआवासीय नेपाली अभियानको सफलता सम्भव नरहेको भन्दै अभियानमा महिलाहरूको सहभागिता अभिवृद्धि गर्ने कार्यमा तत्परताका साथ लाग्ने प्रण गरेको छ । गैरआवासीय युवाहरूलाई नेपालको समृद्धि अभियानमा जोड्नु अति आवश्यक भएको बैठकले महसुस गरेको छ । युवाहरूलाई अभियानमा सामेल गराउनका लागि युवाको चासोका विषयहरू संघका गतिविधिमा समावेश गर्न र संघका आगामी सम्मेलन तथा बैठकहरूमा युवाका चासोका विषयहरू समावेस गर्नेे बैठकले निर्णय गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डायस्पोराको भूमिका महत्वपूर्ण हुने जनाउँदै संसारको पर्यटन बजारमा ‘भिजिट अफ पे्रmन्ड्स एन्ड रिलेटिभ्स’ एक महत्वपूर्ण अंश भएको बैठकको ठहर छ । “यो बैठक धेरैभन्दा धेरै गैरआवासीय नेपालीहरूलाईनेपाल भ्रमण गर्न र आफ्ना साथी र छिमेकीहरूलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्नको लागि आह्वान गर्दछ,” बैठकको निर्णयमा भनिएको छ ।
विदेशमा गएका नेपालीहरू कुनै दुर्घटनामा परी फर्कनु पर्दा वा कुनै पनि कारणवश मृत्यु भएमा शव नेपाल फर्काउनु पर्दा धेरै कठिनाइ आउने गरेको छ । त्यस्तो अप्ठेरो अवस्थामा प्रयोग हुने गरी अनिवार्य बीमाको व्यवस्था गर्न बैठकले सरकार समक्ष आह्वान गरेको छ ।डायस्पोरा नेपाली कूटनीतिको ठूलो संवाहक बन्न सक्छ । नेपालको समृद्धिको लागि अब नेपालले डायस्पोरा कूटनीति अपनाउनुपर्ने धारणा बैठकको रहेको छ । बैठकले आगामी एशिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा गर्ने समेत निर्णय गरेको छ ।
बैठकका संयोजक किरण विक्रम थापाको सभापतित्व, म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री उ क्याउ तिनको प्रमुख आतिथ्यता, म्यानमारका लागि नेपाली राजदूत भिम उदास, प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको विशेष आतिथ्यता, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल,संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो पदाधिकारी सल्लाहकार एवं अभियन्ताहरूको उपस्थितिमा बैठक ७ जुलाईमा म्यानमारको यांगुनमा सम्पन्न भएको थियो ।
बैठकले प्रमुख अतिथ्यता एवं नेपाली डायस्पोराको भूमिकाको उच्च कदर सहितको सम्बोधनका लागि म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री उ क्याउ तिनलाई हार्दिक कृतज्ञता प्रकट गरेको छ । बैठकको आयोजनामा ठूलो सहयोग पु¥याएकोमा म्यानमारका लागि नेपाली राजदूत भिम उदास, श्रीमति रञ्जना उदास एवम् नेपाली राजदूतावास परिवारमा बैठकले आभार प्रकट गरेको छ ।