कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
662

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्र रुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्र« संघ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको उल्लेख गरे ।
विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उनको भनाइ छ । लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाई सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए ।
प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको नेपाल ब्रिटेन अनलाईनले जनाएको छ । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए । गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताएका थिए ।