कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
490

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट ‘एनआरएन फेमेली कार्ड’ को औपचारिक सुरुवात गरिएको छ । एनआरएनएको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी ‘एनआरएन फेमेली कार्ड’ को सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यहरूका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान्–श्रीमती र छोराछोरीले प्राप्त गर्न सक्ने छन् । यद्यपी विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन ।
संघले सदस्यलाई सदस्यतावापत केही सुविधा पनि प्राप्त होस् भन्ने उद्देश्यले विभिन्न व्यावसायिक प्रतिष्ठानसँग सहमति गरी ती प्रतिष्ठानले आपूर्ति गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जसअन्तर्गत ती प्रतिष्ठानले संघका कार्डवाहकहरूलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिने जनाइएको छ ।

कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरूका परिवारका सदस्यले नेपालभित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरू, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एन्ड टिकट एजेन्सी, सूचना तथा सञ्चारसम्बन्धी क्षेत्र, बैंकिङ क्षेत्र, बिमा, फिटनेश सेन्टरलगायतका उद्योग प्रतिष्ठानबाट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । कार्डको म्याद २ वर्षको हुनेछ । त्यसपछि कार्ड पुनः नवीकरण गराउनुपर्नेछ ।
यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउन सक्ने जनाइएको छ । संघले आफ्ना सदस्यको क्यूआर कोडसहितको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै सुरु गरिसकेको छ ।
पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस् भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए । गैरआवासीय नेपालीको सञ्जाललाई थप बृहत् बनाई उनीहरूले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनी यो कार्डको व्यवस्था गरिएको उनले जानकारी दिए ।
यस्तै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताइन् । आगामी अक्टोबरसम्म कम्तिमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैंकिङ, बिमालगायतका क्षेत्रका प्रतिष्ठानसँग सहमति गरी कार्डमार्फत विशेष सहुलियतको व्यवस्था गरिने उनले जानकारी दिइन् ।